स्वतन्त्र मानव अधिकार समाज केन्द्रिय कार्यालय वीरगंजले चार दिनदेखि वीरगंज महानगरपालिकाकाे ७ वटा सामुदायिक विद्यालयमा स्थलगत अनुगमन गरेको छ ।
अनुगमनको क्रममा रामचरण साह पन्नालाल माध्यमिक विद्यालय र नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले २०८१ साउनदेखि भदौ १४ सम्म विद्यार्थीहरूलाई खाजा वितरण नगरेको पाइएको छ ।
यस्तै नेपाल रेल्वे माध्यमिक विद्यालयले भदौ ९ देखि १४ सम्म नास्ता नदिएको भेटाएकाे छ । अनुगमनको क्रममा त्रिभुवन हनुमान माध्यमिक विद्यालय, त्रिजुद्ध महावीर प्रसाद रघुवीर राम माध्यमिक विद्यालय, र जे.पी. चतुर्वेदी स्कूलले नियमित नास्ता वितरण गरेको पाएको छ ।
वीरगंज महानगरपालिकाले प्रत्येक सामुदायिक विद्यालयलाई विद्यार्थीप्रति रु १५ का दरले नास्ता रकम प्रदान गर्दै आएको छ, तर केही विद्यालयहरूले मनलागे नास्ता दिने र नलागे नदिने गरेको पाइएको छ । उजुरीपछि समाजले अनुगमनलाई तिब्रता दिएको थियोे बाँकी सामुदायिक विद्यालयहरूमा पनि अनुगमन गर्दै जाने जनाएको छ।
कृष्ण कुमार खनालकाे सभापतित्वमा भएको अनुगमनमा उपसभापति नन्दि किशोर यादव, महासचिव दीपक साह कानु, सचिव आशिष्ठ मिश्र, उर्मिला कृशबाहा, सहकोषाध्यक्ष रामभरोस यादव, र केन्द्रिय सदस्य सोनालाल गुप्ता लगायतका सदस्यहरू रहेका थिए ।