वैदेशिक रोजगारीका लागि विभिन्न आकर्षक गन्तव्य मुलुक पठाइदिने प्रलोभन देखाएर लाखौँ रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले विभिन्न समय र स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा नवलपरासीका शैलेन्द्र पाण्डे, टोखाकी सुमना अर्याल, खोटाङका विकास सुनार, नवलपरासी पूर्वका बासुदेव श्रेष्ठ, पाँचथरका धनबहादुर योङहाङ र नवलपरासी देवचुलीकी नौमाया आले मगर रहेका छन् ।
प्रहरीका अनुसार शैलेन्द्र पाण्डेले सर्विया र स्लोभाकिया पठाइदिने भन्दै १३ जनाबाट ३५ लाख ७० हजार रुपैयाँ ठगी गरेका थिए । त्यसैगरी, सुमना अर्यालले यूएई पठाइदिने भन्दै २ लाख ८२ हजार रुपैयाँ, विकास सुनारले स्पेन पठाइदिने भन्दै १० जनाबाट १० लाख रुपैयाँ, बासुदेव श्रेष्ठले क्यानडा पठाइदिने भन्दै ७ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोप छ । यस्तै, धनबहादुर योङहाङले दक्षिण कोरिया पठाइदिने भन्दै २ लाख रुपैयाँ तथा नौमाया आले मगरले साइप्रस पठाइदिने भन्दै ६ लाख ४ हजार ५ सय रुपैयाँ ठगी गरी सम्पर्कविहीन भएको उजुरी परेको प्रहरीले जनाएको छ ।
प्रहरीले उनीहरूलाई काठमाडौंका विभिन्न स्थान तथा नवलपरासीबाट पक्राउ गरी आवश्यक कारबाही अघि बढाएको जनाएको छ ।
पक्राउ परेकामध्ये नौमाया आले मगरलाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ भने अन्य पाँच जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जानकारी दिएको छ ।