विश्वका सर्वोच्च शिखर सगरमाथा र मकालु हिमाल मा यस वर्षको वसन्तकालीन आरोहण सिजनमा मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।
पर्यटन विभाग का निर्देशक तथा सूचना अधिकारी हिमाल गौतमका अनुसार सगरमाथा र मकालु क्षेत्रमा भएका विभिन्न घटनामा हालसम्म ५ जनाको मृत्यु भएको पुष्टि भएको हो । मृतकमध्ये ३ जना नेपाली र २ जना विदेशी रहेका छन् ।
नेपाली मृतकमध्ये सगरमाथा आधार शिविर नजिकै वैशाख २० गते सेभेन ट्रेक्स प्रालिका गाइड लाक्पा डेण्डी शेर्पा (सोलुखुम्बु), वैशाख २७ गते खुम्बु आइसफल क्षेत्रमा ट्याग नेपाल ट्रेक्सका गाइड विजय घिमिरे (सोलुखुम्बु) र वैशाख २८ गते सगरमाथाको तेस्रो शिविरमा काइटू एक्सपिडिसनका गाइड फुरा गेलजेन शेर्पाको मृत्यु भएको हो ।
त्यसैगरी संखुवासभास्थित मकालु हिमालमा वैशाख २१ गते चेक रिपब्लिकका डेभिड रोविनेक र वैशाख २८ गते अमेरिकी नागरिक जोहानेस शेलीको निधन भएको पर्यटन विभागले जनाएको छ । उनीहरू मकालुको करिब ७,२०० मिटरभन्दा माथिको ‘डेथ जोन’ क्षेत्रमा रहेका बेला ज्यान गुमाएका हुन् ।
विभागका अनुसार सगरमाथाको खतरनाक खुम्बु आइसफलदेखि उच्च हिमाली शिविरसम्म तथा मकालु क्षेत्रमा भएका विभिन्न दुर्घटनामा यी मानवीय क्षति भएका हुन् ।
यस सिजनमा भने हिमाल आरोहणप्रति विदेशी पर्वतारोहीको उत्साहजनक सहभागिता देखिएको छ । विभागका तथ्याङ्कअनुसार सगरमाथासहित ३० वटा हिमालका लागि १,१३४ आरोहीले अनुमति लिएका छन्, जसमा १३५ टोली सहभागी छन् ।