सप्तरीको विष्णुपुर गाउँपालिका–१ खुरहुरियामा आगलागी हुँदा करिब ६ लाख २० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ।
स्थानीय ६० वर्षीय बेदबिहारी मण्डलको गोठघरमा भएको आगलागीबाट ठूलो क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। मङ्गलबार राति ९:४० बजे काठले बनेको र टिनको छानो भएको, सुत्ने कोठासमेत रहेको गोठघरमा बालिएको घुरबाट आगो सल्किँदा आगलागी भएको प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिए।
आगलागीबाट ५० क्युफिट सिसौको काठ, ३२ मन धान र एक बाछो जलेर नष्ट भएको छ। साथै गोठघर पूर्ण रूपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ।
स्थानीय बासिन्दा, प्रहरी र नेपाली सेनाको दमकलको सहयोगमा राति ११ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो।