तीन दिनदेखि सेयर बजार घट्ने क्रम जारी रहेको छ । मंगलबार नेप्से ३९ अंक, बुधबार ४ अंक र बिहीबार १० अंकले घटेको हो ।
आजको कारोबारपछि नेप्से परिसूचक २७३० अंकमा अडिएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम भने बढेको छ । हिजो २ अर्ब ८० करोड रुपैयाँको कारोबार भएकोमा आज ३ अर्ब २९ करोड रुपैयाँ पुगेको छ ।
आज ८० कम्पनीको सेयर मूल्य बढेको छ भने १७४ कम्पनीको घटेको छ । १४ कम्पनीको मूल्य स्थिर रहेको छ । समूहगत सूचकमा व्यापार समूह ०.३२ प्रतिशत र जीवन बीमा ०.०१ प्रतिशतले बढेका छन् । अन्य सबै समूह घटेका छन्, जसमा सबैभन्दा धेरै २ प्रतिशतले अन्य समूह घटेको छ । बैंकिङ ०.०६, विकास बैंक ०.५३, फाइनान्स ०.७२, होटल तथा पर्यटन ०.३०, हाइड्रोपावर ०.२५, लगानी ०.२६, उत्पादन तथा प्रशोधन ०.५२, माइक्रोफाइनान्स ०.२१ र निर्जीवन बीमा ०.५१ प्रतिशतले घटेका छन् ।
आज युनियन हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ९.७९ प्रतिशतले बढ्यो । त्यस्तै क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स ९.२२ प्रतिशत र सामुदायिक लघुवित्त २.५० प्रतिशतले बढे । सबैभन्दा धेरै घट्नेमा एसियन हाइड्रोपावर ९.८९ प्रतिशतले घट्यो । हिमालयन रिइन्स्योरेन्स ७.१२, नारायणी डेभलपमेन्ट बैंक ५.९१, रिजलाइन इनर्जी ४.७४ र भुजुङ हाइड्रोपावर ४.३४ प्रतिशतले घटेका छन् ।
आज धेरै कारोबार भएका कम्पनीमा हिमालयन रिइन्स्योरेन्स, साहस ऊर्जा, एसवाई प्यानल, युनियन हाइड्रोपावर र माउन्टेन इनर्जी क्रमशः अगाडि रहेका छन् ।