पछिल्लो २४ घण्टामा उपत्यकामा दुई हजार १४४ जना सवारीचालक सवारी नियम उल्लङ्घनका कारण कारबाहीमा परेका छन् । उक्त कारबाहीबाट राज्यकोषमा रु १९ लाख ९५ हजार राजस्व संकलन भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
ट्राफिक प्रहरीका अनुसार मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ९१ जना, नियमविपरीत ‘राइड सेयरिङ’ गर्ने १५१ जना र सिग्नल बत्ती उल्लङ्घन गर्ने १४९ जनालाई कारबाही गरिएको छ । यस्तै, तीव्र गतिमा सवारी चलाउने १८६ जना चालक पनि कारबाहीमा परेका छन् ।
त्यसैगरी लेन अनुशासन पालना नगर्ने १०२ जना, निषेधित क्षेत्रमा हर्न बजाउने १४२ जना, सडक पेटीमा सवारी साधन पार्किङ गर्ने ९५ जना र एकतर्फी सडकमा सवारी चलाउने ११८ जनालाई पनि कारबाही गरिएको छ ।
अन्य विभिन्न सवारी नियम उल्लङ्घन गर्ने एक हजार ११० जना चालकलाई समेत ट्राफिक प्रहरीले कारबाही गरेको जनाएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले सवारी नियमको कडाइका साथ पालना गर्न सबै चालकलाई आग्रह गरेको छ ।