सप्तरीको खडक नगरपालिका–५ रंजितपुरबाट प्रहरीले एक सय ४५ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनकुटाको साँगुरीगढी गाउँपालिका–१ निवासी ३१ वर्षीय महाप्रसाद लिम्बु र मोरङको लेटाङ नगरपालिका–५ निवासी ४७ वर्षीय बलबहादुर लिम्बु रहेका छन् । इलाका प्रहरी कार्यालय कल्याणपुर र प्रहरी चौकी विसनपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले धरानबाट लहानतर्फ जाँदै गरेको को.१ च २६६७ नम्बरको पिकअप भ्यानलाई रोकी जाँच गरेको थियो ।
जाँचका क्रममा गाडीमा फल्स बटम बनाई लुकाइछिपाइ राखिएको अवस्थामा १४ वटा पोकामा गाँजा फेला परेको प्रहरीले जनाएको छ । बरामद गरिएको गाँजाको कुल तौल १ सय ४५ किलो रहेको छ ।
प्रहरीले पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।