नेपाल वायुसेवा निगमले विमान खरिदका लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋणको सावाँ तथा ब्याज गरी कुल दायित्व रु ५५ अर्ब चार करोड ७८ लाख पुगेको छ ।
महालेखापरीक्षकको ६३औँ वार्षिक प्रतिवेदनमा उक्त ऋण रकम निगमले भुक्तानी गर्न बाँकी रहेको उल्लेख गरिएको छ ।
निगमले ए–३२० र ए–३३० जहाज खरिदका लागि सरकारको जमानीमा कर्मचारी सञ्चय कोषबाट २०७० असार ४ र २०७४ जेठ २८ गते गरी करिब रु २२ अर्ब बराबरको ऋण लिएको थियो । यस्तै, नागरिक लगानी कोषबाट पनि करिब रु १२ अर्ब बराबरको ऋण लिइएको थियो । महालेखाको प्रतिवेदनअनुसार हालसम्म कर्मचारी सञ्चय कोषलाई रु ३१ अर्ब ३३ करोड ९२ लाख ३१ हजार र नागरिक लगानी कोषलाई रु २१ अर्ब १२ करोड १७ लाख रुपैयाँ तिर्न बाँकी छ ।
यससँगै कुल बाँकी सावाँ र ब्याज रकम ५५ अर्ब रुपैयाँभन्दा बढी पुगेको देखिएको छ ।