बडिगाड गाउँपालिकामा पहिलोपटक खाना पकाउने प्रयोजनका लागि हरित हाइड्रोजन ग्यास उत्पादन गर्ने प्रविधि सफल रूपमा विकास गरिएको छ ।
खेर गइरहेको विद्युत् र पानीको प्रयोग गरी उत्पादन गरिएको हाइड्रोजन ग्यासको सफल परीक्षणपछि सिलिण्डरमा भरेर चुलो बाल्न सुरु गरिएको हो । तीन वर्षअघि नमूना परियोजनाका रूपमा सुरु गरिएको अध्ययन तथा अनुसन्धान सफल भएपछि अहिले व्यावसायिक प्रयोगतर्फ अघि बढाइएको जनाइएको छ । बडिगाड गाउँपालिका–२ स्थित गिरिङ्दिखोला लघु जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् प्रयोग गरी हाइड्रोजन ग्यास उत्पादन गरिएको हो। विसं २०६६ मा स्थापना भएको उक्त लघु जलविद्युत् आयोजनाको खेर गइरहेको विद्युत् उपयोग गरेर नयाँ प्रविधिको परीक्षण गरिएको हो । परियोजनाअन्तर्गत हालसम्म आठ वटा सिलिण्डरमा हरित हाइड्रोजन ग्यास भरेर परीक्षण गरिएको छ। एक वर्षअघि गरिएको प्रारम्भिक परीक्षण सफल भएपछि सुरक्षित रूपमा सिलिण्डर भर्ने कार्य अघि बढाइएको हो ।
नेपाल इनर्जी फाउण्डेसनका अध्यक्ष मोहनदास मानन्धरका अनुसार पानीबाट अक्सिजन अलग गरी हाइड्रोजन मात्र निकालेर सिलिण्डरमा भर्ने प्रविधि प्रयोग गरिएको हो । उक्त ग्यास आवश्यकताअनुसार खाना पकाउन प्रयोग गर्न सकिने बताइएको छ ।
यो परियोजना नेपाल इनर्जी फाउण्डेसन, ऊर्जा र वातावरणका लागि महिला सञ्जाल नेपाल, एसएण्डएओ कम्पनी लिमिटेड (यूके), एचएसएलयु स्विट्जरल्यान्ड, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, बडिगाड गाउँपालिका तथा गिरिङ्दिखोला लघु जलविद्युत् आयोजनाको सहकार्यमा विभिन्न देशका वैज्ञानिक तथा प्राविधिकहरूको सहयोगमा सञ्चालन गरिएको हो ।
परियोजनाले अब हाइड्रोजन ग्यासको सुरक्षित वितरण प्रणाली र व्यावसायिक विस्तारका लागि थप अध्ययन अघि बढाउने जनाएको छ ।