जानकी मन्दिरलाई युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत गराउन माग गर्दै जनकपुरधाममा ‘सम्पदा यात्रा’ आयोजना गरिएको छ ।
जानकी मन्दिर प्राङ्गणबाट सुरु भएको सम्पदा यात्रा जनकपुरधामका विभिन्न ऐतिहासिक तथा धार्मिक सम्पदाहरूको परिक्रमा गर्दै महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक भवनमा पुगेर सम्पन्न भएको हो । सम्पदा यात्रामा जानकी मन्दिर, पेठिया बजार, रंगभूमि मैदान, रामजानकी विवाह मण्डप, अरगज्जा पोखरी, राम मन्दिर, धनुष सागर र गंगासागर लगायतका सम्पदाहरूको बाजागाजासहित पदयात्रा गरिएको थियो ।
आयोजकका अनुसार जनकपुरधामको ऐतिहासिक तथा धार्मिक सम्पदाको संरक्षण गर्ने र जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
पदयात्रामा स्थानीयवासी, युवा, विद्यार्थी, संस्कृति संरक्षणकर्मी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो ।