गर्मी मौसमसँगै अण्डाको उत्पादन घटेपछि बजारमा अण्डाको मूल्य वृद्धि भएको छ ।
नेपाल लेयर्स कुखुरापालक सङ्घ ले आज अण्डाको नयाँ समर्थन मूल्य सार्वजनिक गर्दै ठूलो अण्डाको मूल्य प्रतिक्रेट ५१५ रुपैयाँ तथा मध्यम अण्डाको मूल्य प्रतिक्रेट ४८५ रुपैयाँ (फार्म दर) कायम गरेको जनाएको छ । सङ्घका सचिव मदन पोखरेलका अनुसार उपभोक्ता मूल्य भने प्रतिगोटा २५ रुपैयाँ कायम गरिएको छ । यसअघि ठूलो अण्डा प्रतिक्रेट ४८५ रुपैयाँ र मध्यम अण्डा ४३५ रुपैयाँमा कारोबार हुँदै आएको उनले जानकारी दिए ।
सङ्घका अध्यक्ष विनोद पोखरेलले अत्यधिक गर्मीका कारण अण्डा उत्पादनमा कमी आएको तथा दुई दिने सार्वजनिक बिदाका कारण पर्यटकको चाप बढ्दा अण्डाको खपतसमेत बढेकाले मूल्य वृद्धि भएको बताए । उनले किसान कुखुरापालन व्यवसायबाट पलायन हुँदै जानु, जनशक्तिको अभाव हुनु तथा विभिन्न रोगका कारण कुखुरा मर्नुले पनि उत्पादन घटेको उल्लेख गरे ।
उनले भने, “किसान कुखुरापालन पेसाबाट पलायन हुँदा जनशक्तिको अभाव छ। कुखुरामा विभिन्न रोग लागेर मरेका छन्, जसले अण्डाको उत्पादन घटेको छ।”
अध्यक्ष पोखरेलका अनुसार अण्डाको लागत मूल्य प्रतिगोटा १९ रुपैयाँ १२ पैसा पर्ने भए पनि किसानले अझै लागतअनुसारको उचित मूल्य पाउन नसकेका छन्। विभिन्न कृषि फार्मले निर्धारण गरेको मूल्यलाई आधार मानेर सङ्घले समर्थन मूल्य सार्वजनिक गर्ने गरेको उनले बताए।
फार्महरूको मूल्यलाई समायोजन गरेर समर्थन मूल्य निर्धारण गरिएको सङ्घले जनाएको छ। सङ्घका अनुसार विभिन्न पोल्ट्री फार्मले कायम गरेको मूल्य यसप्रकार रहेको छः
- शिवम् पोल्ट्री ले ठूलो अण्डाको मूल्य प्रतिपेटी ३ हजार ९६० रुपैयाँ तथा मझौला अण्डाको मूल्य ३ हजार ७६० रुपैयाँ कायम गरेको छ।
- लक्ष्य पोल्ट्री ले ठूलो अण्डा प्रतिपेटी ३ हजार ९८० रुपैयाँ तथा मझौला अण्डा ३ हजार ७८० रुपैयाँ निर्धारण गरेको छ।
- खजाना एग्रो ले ठूलो अण्डा प्रतिपेटी ३ हजार ९७५ रुपैयाँ तथा मझौला अण्डा ३ हजार ७७५ रुपैयाँ कायम गरेको छ।
- नेशनल काजी एग्रो ले ठूलो अण्डा प्रतिपेटी ३ हजार ९६५ रुपैयाँ तथा मझौला अण्डा ३ हजार ७६५ रुपैयाँ मूल्य तोकेको छ।
कुखुरापालक व्यवसायीहरूले उत्पादन लागत, रोग संक्रमण तथा श्रमिक अभावका कारण व्यवसाय सञ्चालन चुनौतीपूर्ण बन्दै गएको बताएका छन्।