सप्तरीको महदेवा गाउँपालिकामा अध्ययनरत छात्रालाई साइकलसहित शैक्षिक सामग्री वितरण गरिएको छ । कक्षा ७ देखि १२ सम्म अध्ययनरत गरिब, दलित तथा विपन्न परिवारका ७९ जना छात्रालाई आइतबार सामग्री वितरण गरिएको हो ।
हाम्रो समाज नेपाल केन्द्रीय कार्यालय, महदेवा गाउँपालिका–५ भगवतपुरले नेपाल भिलेज फाउन्डेसनको सहयोगमा सञ्चालन गरेको ‘बालिका शिक्षा परियोजना’ अन्तर्गत कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रमअन्तर्गत कक्षा ७ देखि १० सम्म नयाँ भर्ना भएका २१ जना छात्रालाई साइकलसहित शैक्षिक सामग्री र अन्य ५८ जना छात्रालाई शैक्षिक सामग्री वितरण गरिएको नेपाल भिलेज फाउन्डेसनका निर्देशक कृतनारायण शर्माले जानकारी दिनुभयो ।
उहाँका अनुसार छात्रालाई वर्षभरि पुग्ने गरी कपी, डटपेन, पेन्सिल, क्यालकुलेटर, ज्यामिति बक्स, स्कुल ब्याग र छातासहितका सामग्री उपलब्ध गराइएको हो ।
संस्थाका परियोजना प्रमुख रामनारायण शर्माले महदेवा गाउँपालिकाका सबै वडाबाट गरिब, दलित तथा विपन्न परिवारका बालिकालाई छनोट गरी प्रत्येक वर्ष साइकल तथा शैक्षिक सामग्री वितरण गर्दै आएको बताउनुभयो । उहाँले छोरीलाई शिक्षामा अगाडि बढाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको उल्लेख गर्नुभयो ।
साइकल तथा शैक्षिक सामग्री पाएपछि छात्राले खुसी व्यक्त गरेका छन् । माध्यमिक विद्यालय बथनाहाकी कक्षा १० की छात्रा प्रियाकुमारी गिरीले आर्थिक अभावका कारण अध्ययन सामग्री जुटाउन कठिन भइरहेको अवस्थामा संस्थाको सहयोगले ठूलो राहत पुगेको बताउनुभयो ।
त्यस्तै, सोही विद्यालयकी छात्रा पायलकुमारी गिरी र मोनिका रायले साइकल पाएपछि टाढाको विद्यालयसम्म पुग्न सहज भएको प्रतिक्रिया दिएका छन् । संस्थाकी अध्यक्ष शिवानीकुमारी शर्माको अध्यक्षतामा आयोजित कार्यक्रममा संस्थापक वैद्यनाथ यादव सहितका अतिथिले छात्रालाई साइकल तथा शैक्षिक सामग्री हस्तान्तरण गर्नुभएको थियो ।
संस्थापक यादवले २०६७ सालदेखि ‘हाम्रो समाज नेपाल’ ले बालिकाको उच्च शिक्षामा सहयोग गर्दै आएको तथा विपद्का समयमा अग्निपीडित र बाढीपीडितलाई समेत सहयोग गर्दै आएको जानकारी दिनुभयो ।