पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका–४ तुलसी बर्वास्थित ओरिया खोलाको किनारमा रहेको खेतबाट ८७ किलो गाँजा बरामद गरिएको छ ।
सशस्त्र प्रहरीका अनुसार खेतमा गहुँको भुसले छोपी लुकाइ राखिएको अवस्थामा उक्त लागूऔषध फेला परेको हो । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट (बिओपी) भिस्वाबाट सशस्त्र प्रहरी निरीक्षक अर्जुन दाहालको कमान्डमा खटिएको गस्ती टोलीले आइतबार राति करिब १० बजे विशेष सूचनाको आधारमा सर्च अभियान सञ्चालन गरेको थियो ।
सर्च अभियानका क्रममा खेतभित्र शंकास्पद रूपमा लुकाइ राखिएको अवस्थामा गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद गरिएको गाँजा आवश्यक कानुनी प्रक्रिया तथा थप अनुसन्धानका लागि नेपाल प्रहरीलाई बुझाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।