अघिल्लो कारोबार दिन ६ अंकले घटेको सेयर बजार बुधबार भने उल्लेख्य सुधारसहित उकालो लागेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३०.०८ अंक अर्थात् १.१० प्रतिशतले बढेर २७५४ अंकमा पुगेको छ । यो दिनभरकै उच्च विन्दु पनि हो । आज कारोबार रकममा पनि वृद्धि भएको छ । अघिल्लो दिन ३ अर्ब ८ करोड रुपैयाँको कारोबार भएकोमा बुधबार ३ अर्ब ८२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । बजार खुलेदेखि अन्तिम समयसम्म नै सकारात्मक प्रवृत्ति कायम रहेको थियो ।
आज २१ कम्पनीको सेयर मूल्य घट्दा २४८ कम्पनीको मूल्य बढेको छ भने एनएलजी इन्स्योरेन्स कम्पनीको मूल्य स्थिर रहेको छ । सबै समूहका सूचक हरियाली देखिएका छन् । हाइड्रोपावर तथा होटल–पर्यटन समूह सबैभन्दा धेरै १.८९ प्रतिशतले बढेका छन् । त्यस्तै बैंकिङ ०.७३, विकास बैंक ०.४४, फाइनान्स १.४०, लगानी १.१५, जीवन बीमा ०.९७, उत्पादन तथा प्रशोधन १.१५, माइक्रोफाइनान्स ०.६२, निर्जीवन बीमा ०.४४, अन्य १.०९ तथा व्यापार समूह १.५१ प्रतिशतले बढेका छन् ।
व्यक्तिगत कम्पनीतर्फ अपर लोहोरेखोला जलविद्युत्को सेयर मूल्य सबैभन्दा धेरै १५ प्रतिशतले बढेको छ । त्यस्तै माउन्टेन हाइड्रो नेपाल ११.८८, बुंगल हाइड्रो ७.५१, शिखर पावर ६.१२ तथा सिटी होटलको सेयर मूल्य ५.९० प्रतिशतले बढेको छ ।
यता कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य सबैभन्दा धेरै १३.२६ प्रतिशतले घटेको छ । बोटलर्स नेपाल बालाजुको मूल्य ३ प्रतिशत तथा कुथेली बुखरी हाइड्रोपावरको २.०७ प्रतिशतले घटेको छ ।
आज सर्वाधिक कारोबार भएका कम्पनीहरूमा कर्पोरेट डेभलपमेन्ट बैंक, आँखुखोला जलविद्युत्, अपी पावर, रिडी पावर तथा नेसनल हाइड्रोपावर रहेका छन् ।