रौतहट प्रहरीले लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरी टोलीले चन्द्रपुर नगरपालिका–४ स्थित महेन्द्र राजमार्गमा नियमित चेकजाँचका क्रममा उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ पर्नेमा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–४ निवासी ३० वर्षीय अरुण जंग राई र चन्द्रपुर नगरपालिका–४ निवासी ३६ वर्षीय सन्देश कुशवार रहेका छन् ।
बा १७ प ७४३८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई शंका लागेपछि प्रहरीले जाँच गर्दा ६ दशमलव ३८० ग्राम ब्राउन सुगर बरामद भएको जनाएको छ । प्रहरीले लागुऔषधसहित मोटरसाइकल र उनीहरूले प्रयोग गर्दै आएका दुई थान मोबाइल फोनसमेत नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी प्रमुख रुपा लाबुङका अनुसार पक्राउ परेका दुवैमाथि थप अनुसन्धान भइरहेको छ ।