सिराहा प्रहरीले प्रतिबन्धित लागूपदार्थ ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाको साथबाट २६ ग्राम १८० मिलिग्राम ब्राउनसुगर बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा सिराहाको औरही गाउँपालिका–४ निवासी ३२ वर्षीय रामउदगार यादव, सिराहा नगरपालिका–२२ निवासी ३६ वर्षीय राम बिलेक्षण यादव तथा भारतको बिहार राज्य मधुवनी ग्राम पञ्चायत खाजेडी–५ का करिब २१ वर्षीय चन्दन कामती रहेका छन् ।
विशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्यूरो गोलबजार र इलाका प्रहरी कार्यालय विष्णुपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले सिराहा–चोहर्वा सहायक सडकअन्तर्गत विष्णुपुर गाउँपालिका–१ क्षेत्रमा सिराहाबाट काठमाडौंतर्फ जाँदै गरेको बा प्र ०३–००१ ख ३५३७ नम्बरको यात्रुवाहक बसलाई रोकी चेकजाँच गरेको थियो ।
चेकजाँचका क्रममा रामउदगार यादवको साथबाट उक्त परिमाणको ब्राउनसुगर फेला परेको प्रहरीले जनाएको छ । उनीहरूको साथबाट एक थान डिजिटल तराजु समेत बरामद गरिएको छ ।
पक्राउ परेका तीनै जनाविरुद्ध जिल्ला अदालत सिराहाबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।