बारा जिल्लासँग जोडिएको भारत–नेपाल सीमावर्ती क्षेत्रमा अपराध नियन्त्रण अभियानलाई तीव्र बनाउँदै भारतीय सीमा सुरक्षा बल सशस्त्र सीमा बल (एसएसबी) र बिहार प्रहरी ले सञ्चालन गरेको संयुक्त विशेष अपरेशनमा दुई थान कटुवा पेस्तोल, गोली, गाँजा, नेपाली मदिरा तथा मोटरसाइकलसहित तीन जना भारतीय नागरिक पक्राउ परेका छन् ।
एसएसबी ७१ औँ बटालियन का इन्टेलिजेन्स सेटअपबाट प्राप्त गोप्य सूचनाका आधारमा उक्त कारबाही गरिएको एसएसबी मुख्यालय पिपराकोठीका प्रवक्ता बिनित कुमार सिंह ले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ ।
बुधबार साँझ करिब ८ः४० बजे ‘सी’ कम्पनी बेलदारवा मठ अन्तर्गत पर्ने लालाछाप्रा भारत–नेपाल चेकपोस्ट क्षेत्रमा आदापुर प्रहरीसँगको समन्वयमा संयुक्त अपरेशन सञ्चालन गरिएको थियो । अपरेशनका क्रममा सुरक्षाकर्मीले ८ एमएम केएफ लेखिएको एक थान जिउँदो गोली, करिब १२ ग्राम गाँजा, १५ बोतल नेपाली मदिरा तथा एउटा मोटरसाइकल बरामद गरेका थिए । पक्राउ पर्नेहरुमा पूर्वी चम्पारण जिल्लाको आदापुर थाना क्षेत्र निवासी २३ वर्षीय अफताब अन्सारी, २५ वर्षीय अफरोज अन्सारी र २० वर्षीय गुड्डु कुमार शाह रहेका छन् ।
प्रारम्भिक सोधपुछका क्रममा प्राप्त सूचनाका आधारमा बिहीबार दिउँसो करिब १२ः३० बजे अफरोज अन्सारीको घरमा संयुक्त रुपमा छापा मारिएको थियो । सो क्रममा दुई थान घरेलु कटुवा पेस्तोल बरामद गरिएको एसएसबीले जनाएको छ । बरामद हतियार तथा अन्य सामग्री थप अनुसन्धान र कानुनी प्रक्रिया अगाडि बढाउन आदापुर प्रहरीलाई बुझाइएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको तथा अन्य विवरण प्राप्त भएपछि सार्वजनिक गरिने एसएसबी मुख्यालय पिपराकोठीका सहायक कमान्डेन्ट बिश्वाजित तिवारी ले जानकारी दिएका छन् ।
पछिल्लो समय भारत–नेपाल सीमाक्षेत्रमा अपराध नियन्त्रण, तस्करी रोकथाम तथा सुरक्षा निगरानीलाई प्रभावकारी बनाउन एसएसबी ७१ बटालियनले विशेष सक्रियता बढाउँदै आएको छ ।