काठमाडौं । सरकारले सार्वजनिक यातायातका लागि नयाँ सवारी साधनको दर्ता प्रक्रिया तत्कालका लागि रोक्ने निर्णय गरेको छ ।
यातायात व्यवस्था विभागले सातै प्रदेशका मन्त्रालय तथा स्थानीय तहलाई पत्राचार गर्दै अर्को सूचना जारी नभएसम्मका लागि नयाँ सार्वजनिक सवारी दर्ता रोक्न निर्देशन दिएको हो ।
विभागले पठाएको परिपत्र सार्वजनिक भएसँगै बस, मिनिबस, माइक्रो, ट्याक्सी, टुकटुकेदेखि विद्युतीय सवारी साधन (ईभी) सम्मको नयाँ दर्ता रोकिएको स्पष्ट भएको छ । तर व्यक्तिगत प्रयोजनका सवारी साधनको दर्ता भने यो निर्णयबाट प्रभावित नहुने विभागले जनाएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार सार्वजनिक यातायात क्षेत्रमा देखिएको असहजता, सवारी चाप, ट्राफिक जाम, वायु प्रदूषण तथा इन्धनको बढ्दो मूल्यलाई ध्यानमा राख्दै यो निर्णय गरिएको हो ।
विभागले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को प्रावधानअनुसार सार्वजनिक हितका लागि नयाँ सवारी दर्ता रोक्ने अधिकार प्रयोग गरिएको जनाएको छ ।