सोमबार सेयर बजारको परिसूचक नेप्से २७.८५ अंक (१.०० प्रतिशत) ले वृद्धि भएको छ । यससँगै नेप्से २७८६ अंकमा पुगेको छ, जुन वैशाख १४ यताकै उच्च हो ।
आज बजार दिनभर हरियो रह्यो भने कारोबार रकम पनि उल्लेख्य रूपमा बढेको छ । अघिल्लो दिन ४ अर्ब ४८ करोड रुपैयाँको कारोबार भएकोमा आज ५ अर्ब ९८ करोड रुपैयाँको कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ । यो वैशाख १५ यताकै उच्च कारोबार हो ।
आज २३५ कम्पनीको सेयर मूल्य बढेको छ भने २८ कम्पनीको घटेको र ७ कम्पनीको मूल्य स्थिर रहेको छ ।
क्षेत्रगत सूचकमा जलविद्युत् समूह सबैभन्दा धेरै १.५० प्रतिशतले बढेको छ । यस्तै बैंकिङ ०.८५, विकास बैंक ०.६९, फाइनान्स ०.५७, होटल तथा पर्यटन १.०२, लगानी ०.७४, जीवन बीमा ०.६४, उत्पादन तथा प्रशोधन १.३५, माइक्रोफाइनान्स ०.९९, निर्जीवन बीमा ०.९५, अन्य १.२३ र व्यापार समूह ०.३२ प्रतिशतले बढेका छन् ।
आज धेरै मूल्य बढ्ने शीर्ष पाँच कम्पनीमा सबै जलविद्युत् समूहका रहेका छन् । थ्रीस्टार हाइड्रोपावरको सेयर मूल्य ९.०१ प्रतिशतले बढेर शीर्ष स्थानमा रह्यो । यस्तै सुपर खुदी हाइड्रोपावर ८.३२ प्रतिशत, अपरहेवाखोला ५.३८ प्रतिशत, मायाखोला हाइड्रोपावर ५.३४ प्रतिशत र रिजलाइन इनर्जी ५.१९ प्रतिशतले बढेका छन् ।
त्यसैगरी बुंगल हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै १०.३२ प्रतिशतले घटेको छ भने क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स ५.५५ प्रतिशतले घटेको छ ।
आज सबैभन्दा बढी कारोबार हुने कम्पनीहरूमा आँखुखोला जलविद्युत्, रिडी पावर, अपी पावर, नेसनल हाइड्रोपावर र ङादी ग्रुप रहेका छन् ।