सर्लाहीको हरिवनस्थित इन्दुशङ्कर चिनी उद्योगले उखु क्रसिङ सिजन २०८२/८३ का लागि किसानबाट खरिद गरिएको उखुको सम्पूर्ण भुक्तानी गरेको छ ।
उद्योगले यो सिजनमा किसानलाई कुल २ अर्ब २ करोड १८ लाख ६४ हजार १६९ रुपैयाँ भुक्तानी गरेको उद्योगका प्रशासकीय अधिकृत ठाकुरप्रसाद नेपाल ले जानकारी दिएका छन्। उद्योगले यस वर्ष किसानबाट ३२ लाख ९३ हजार १२३.७९ क्विन्टल उखु खरिद गरेको थियो । सरकारद्वारा निर्धारण गरिएको प्रतिक्विन्टल ६२० रुपैयाँका दरले सम्पूर्ण भुक्तानी गरिएको उद्योगले जनाएको छ ।
सर्लाहीका अन्य उद्योगहरू महालक्ष्मी चिनी उद्योग बगदह गोडैता र अन्नपूर्ण चिनी उद्योग धनकौलले भने किसानलाई भुक्तानी नगरेको भन्दै आलोचना भइरहेको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीको बैठकले यी उद्योगलाई जेठ मसान्तभित्र सम्पूर्ण भुक्तानी गर्न निर्देशन दिएको छ ।
उता धनकौलका किसान रामकल्याण यादवले अन्नपूर्ण चिनी उद्योगमा बिक्री गरेको उखुको तीन महिनाभन्दा बढी समय बितिसक्दा पनि भुक्तानी नपाएको गुनासो गरेका छन् ।
किसानहरूका अनुसार इन्दुशङ्कर चिनी उद्योगले समयमै भुक्तानी दिने गरे पनि अन्य उद्योगहरूले भने हरेक वर्ष ढिलाइ गर्ने समस्या दोहोरिँदै आएको छ ।