सरकारले भन्सार दरको संरचना पुनरावलोकन गर्दै अहिले कायम रहेको ११ तहको भन्सार दरलाई घटाएर ७ तहमा सीमित गरेको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।
उनका अनुसार औद्योगिक कच्चा पदार्थमा लाग्ने भन्सार महसुलमा एक तह घटाइएको छ । यस व्यवस्थाबाट उद्योग क्षेत्रलाई राहत पुग्ने तथा उत्पादन लागत घटाउन सहयोग पुग्ने सरकारको अपेक्षा छ ।
अर्थमन्त्री वाग्लेले कुल २७३ वस्तुमा भन्सार दर घटाइएको जानकारी दिए। साथै ३६० वस्तुमा लाग्दै आएको अन्तःशुल्क खारेज गरिएको पनि उनले बताए ।
त्यसैगरी भन्सार विन्दुमा संकलन हुँदै आएका विभिन्न छरिएका करलाई एकीकृत गरी ‘हरित कर’ को अवधारणामा रूपान्तरण गरिएको सरकारले जनाएको छ ।
सरकारले कर प्रणालीलाई सरल, पारदर्शी र उद्योगमैत्री बनाउने उद्देश्यले यस्तो व्यवस्था लागू गरिएको उल्लेख गरेको छ ।