सरकारले निजामती तथा सार्वजनिक सेवामा कार्यरत कर्मचारीहरूको तलब बढाउने घोषणा गरेको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले बजेट वक्तव्यमार्फत कर्मचारीहरूको आधारभूत तलब १० प्रतिशतले वृद्धि गरिने जानकारी दिएका हुन् । अर्थमन्त्री वाग्लेले पछिल्ला चार वर्षदेखि तलब नबढेको र मूल्यवृद्धि १७.३ प्रतिशत पुगेको भन्दै कर्मचारीको मर्यादित जीवनयापनका लागि पारिश्रमिक पुनरावलोकन आवश्यक भएको बताए ।
नयाँ व्यवस्थाअनुसार आधारभूत तलब बढेसँगै १० प्रतिशत प्रोत्साहन भत्ता पनि दिइनेछ । यससँगै हाल पाइँदै आएको मासिक पाँच हजार रुपैयाँ महँगी भत्ता निरन्तर रहनेछ । सरकारका अनुसार यी सबै सुविधासहित कर्मचारीहरूको कुल तलब करिब २१ प्रतिशतसम्म बढ्नेछ । नयाँ तलब संरचना अनुसार कार्यालय सहयोगी स्तरका कर्मचारीको मासिक तलब करिब ४० हजार रुपैयाँ पुग्नेछ भने मुख्यसचिवको तलब करिब एक लाख रुपैयाँ हाराहारीमा पुग्ने अनुमान गरिएको छ ।
मुख्यसचिवको हालको आधारभूत तलब ७७ हजार २११ रुपैयाँबाट बढेर ८४ हजार ९३२ रुपैयाँ पुगेको छ । प्रोत्साहन भत्ता र महँगी भत्ता थपिँदा कुल मासिक पारिश्रमिक करिब ९८ हजार ४२५ रुपैयाँ हुने उल्लेख गरिएको छ । त्यस्तै, कार्यालय सहयोगीको तलब २७ हजार ६११ रुपैयाँबाट बढेर ३० हजार ३७२ रुपैयाँ पुगेको छ भने प्रोत्साहन भत्ता र महँगी भत्ता समेत जोडिँदा कुल पारिश्रमिक अझ बढ्नेछ ।
पेन्सन प्राप्त कर्मचारीको हकमा आधारभूत तलबको दुई तिहाइ अनुसार वृद्धि हुने व्यवस्था गरिएको छ । सरकारले २०७९ सालपछि पहिलो पटक कर्मचारी तलब संरचना पुनरावलोकन गरेको हो ।