खाद्य प्रविधि तथा गुण नियन्त्रण क्षेत्रीय कार्यालय जनकपुरबाट आएको मोबाइल ल्याब भ्यानसहितको संयुक्त अनुगमन टोलीले वीरगञ्जका डेरी उद्योग तथा विभिन्न मिठाई पसलमा अनुगमन गरेको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाको संयोजकत्वमा सोमबार गरिएको अनुगमनका क्रममा पानीटंकीस्थित मंगलम डेरीमा परीक्षण गरिएको दूधमा सोडा भेटिएपछि उक्त दूध नष्ट गरिएको हो । अनुगमन टोलीले मंगलम डेरीबाट २० लिटर दूध परीक्षण गर्दा सोडा मिसावट फेला परेको जनाएको छ । त्यसपछि उक्त दूध नष्ट गरिएको सहायक प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिए ।
अनुगमनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पर्सा, उपभोक्ता हित संरक्षण मञ्च नेपाल पर्सा, प्रहरी प्रशासन तथा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जका प्रतिनिधिहरू सहभागी रहेका थिए ।
संयुक्त टोलीले बजारमा बिक्री वितरण भइरहेका खाद्य सामग्रीको गुणस्तर परीक्षण तथा उपभोक्ता हित संरक्षणका लागि वीरगञ्जका विभिन्न स्थानमा अनुगमन जारी रहेको जनाएको छ ।