भारतबाट अवैध रूपमा भन्सार छली गरी ल्याइएका विभिन्न किराना सामानसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा राजविराज नगरपालिका–१६, वोरिया टोल निवासी ४२ वर्षीय प्रमोद यादव रहेका छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार शुक्रबार अस्थायी प्रहरी पोस्ट तितिरगाछीबाट खटिएको प्रहरी टोलीले राजविराज नगरपालिका–११ स्थित झलही नहर क्षेत्रमा सवारी साधन चेकजाँच गर्ने क्रममा को. ७ प. ३९९६ नम्बरको मोटरसाइकल रोकेको थियो ।
चेकजाँचका क्रममा मोटरसाइकलमा भारतबाट भन्सार छली गरी ल्याइएका विभिन्न किराना सामान फेला परेपछि चालक प्रमोद यादवलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेले जानकारी दिए । प्रहरीका अनुसार बरामद गरिएको किराना सामान र मोटरसाइकलको अनुमानित मूल्य एक लाख २० हजार ८ सय रुपैयाँ रहेको छ ।
पक्राउ परेका यादव तथा बरामद सामानसहित मोटरसाइकललाई आवश्यक कारबाहीका लागि राजविराज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।