काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीचालकहरूमाथि ट्राफिक प्रहरीले निगरानी र कारबाहीलाई थप तीव्र बनाएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने १ हजार ९२२ जना सवारीचालक कारबाहीमा परेका छन् । उक्त कारबाहीबाट राज्यकोषमा ५ लाख ११ हजार ५०१ रुपैयाँ राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।
कारबाहीमा परेकामध्ये सबैभन्दा बढी १ हजार २९६ जना विभिन्न सवारी नियम पालना नगर्ने चालक रहेका छन् । यस्तै, तीव्र गतिमा सवारी चलाउने १३९ जना, ट्राफिक बत्ती उल्लङ्घन गर्ने १२९ जना तथा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ९२ जना चालकलाई पनि कारबाही गरिएको छ ।
त्यसैगरी, नियमविपरीत राइड सेयरिङ गर्ने ७८ जना, एकतर्फी सडक (वान वे) मा सवारी चलाउने ७० जना, निषेधित क्षेत्रमा हर्न बजाउने ६७ जना, लेन अनुशासन उल्लङ्घन गर्ने ४१ जना तथा कालो सिसा प्रयोग गरी सवारी सञ्चालन गर्ने १० जना चालकसमेत कारबाहीमा परेका छन् ।
ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाको यातायात व्यवस्थालाई सुरक्षित, व्यवस्थित र अनुशासित बनाउन नियमित निगरानी तथा कारबाहीलाई निरन्तरता दिइने जनाएको छ ।