बारा क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य अरविन्द साहको पहलपछि मधेश प्रदेशका लागि १७ प्रकारका अत्यावश्यक स्वास्थ्य सामग्री तथा औषधि उपलब्ध हुने भएको छ ।
सांसद साहले मधेश प्रदेशका स्वास्थ्यमन्त्री नागेन्द्र साह, स्वास्थ्य सचिव डा. प्रमोद यादव तथा संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहतासँग छलफल गरी प्रदेशमा देखिएको औषधि तथा स्वास्थ्य सामग्रीको अभाव तत्काल समाधान गर्न माग गरेका थिए । उक्त छलफलपछि मधेश प्रदेशका सरकारी स्वास्थ्य संस्थामा आवश्यक पर्ने १७ प्रकारका औषधि तथा स्वास्थ्य सामग्री शीघ्र उपलब्ध गराउने सहमति भएको सांसद साहको सचिवालयले जनाएको छ ।
सांसद साहले सरकारी अस्पताल तथा स्वास्थ्य संस्थामा अत्यावश्यक औषधि र स्वास्थ्य सामग्रीको अभाव हुँदा सर्वसाधारण नागरिकले समयमै उपचार सेवा पाउन कठिनाइ भइरहेको उल्लेख गर्दै त्यसको तत्काल व्यवस्थापन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए । स्वास्थ्य मन्त्रालयका पदाधिकारीसँग भएको छलफलमा मधेश प्रदेशका अस्पताल तथा स्वास्थ्य संस्थामा देखिएका औषधि अभाव, सेवा प्रवाहमा देखिएका समस्या तथा आवश्यक स्वास्थ्य सामग्रीको व्यवस्थापनबारे समीक्षा समेत गरिएको थियाे ।
सासंद साहकाे यस पहलबाट प्रदेशका सरकारी अस्पताल र स्वास्थ्य संस्थामा उपचार सेवा थप प्रभावकारी हुने तथा सर्वसाधारण नागरिकले सहज रूपमा अत्यावश्यक औषधि तथा स्वास्थ्य सेवा प्राप्त गर्ने अपेक्षा गरेका छन् ।