अर्थमन्त्री स्वर्णिम वाग्लेले मध्यपूर्वमा देखिएको द्वन्द्व सहज हुँदै गएकाले पेट्रोलियम पदार्थको मूल्य चाँडै घट्ने बताएका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा आर्थिक विधेयक, २०८३ माथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल (क्रुड) को मूल्य घटिसकेको भए पनि नेपालमा तत्काल मूल्य समायोजन हुन समय लाग्ने बताएका हुन् । उनका अनुसार मध्यपूर्वको द्वन्द्वका कारण बढेको इन्धन मूल्यबाट उपभोक्तालाई राहत दिन सरकारले पहिले नै पेट्रोल, डिजेल र मट्टीतेलमा लाग्ने भन्सार महसुल तथा पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिइसकेको छ ।
अर्थमन्त्री वाग्लेले भने, “मध्यपूर्वमा देखिएको समस्याका कारण इन्धनको मूल्यवृद्धिबाट उपभोक्तामा परेको भार कम गर्न अर्थमन्त्री भएको दुई हप्ताभित्रै पेट्रोल, डिजेल र मट्टीतेल पैठारीमा लाग्ने भन्सार महसुल तथा पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिइएको हो। अहिले मध्यपूर्वको अवस्था सहज हुँदै गएको छ । क्रुड मूल्य घटिसकेको छ, तर आयात प्रक्रिया र भारतीय आयल निगममार्फत हुने आपूर्तिका कारण नेपालमा मूल्य समायोजन हुन केही समय लाग्छ ।”
उनका अनुसार नेपालले भारतीय आयल निगममार्फत इन्धन आयात गर्ने भएकाले अन्तर्राष्ट्रिय बजारमा मूल्य घटे पनि तत्काल त्यसको प्रभाव नेपाली बजारमा नदेखिने अवस्था रहेको छ । अर्थमन्त्री वाग्लेले आपूर्ति श्रृंखला (सप्लाई चेन) मा समय लाग्ने भएकाले केही ढिलाइ भए पनि आगामी दिनमा मूल्य घट्ने संकेत देखिएको स्पष्ट पारे ।
सरकारले हालको मूल्यवृद्धिको दबाब कम गर्न कर छुटको व्यवस्था गरेको र बजार स्थिरताका लागि निरन्तर निगरानी भइरहेको उनले जानकारी दिए ।