नेपाल र भारतबीच अमलेखगञ्ज–लोथर र सिलिगुडी–चारआली पेट्रोलियम पाइपलाइन निमार्ण गर्न सम्झौता गरिएकाे छ ।
काठमाडौँमा आयोजित समारोहमा नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्ट र इन्डियन आयल कर्पोरेसन लिमिटेडका निर्देशक सेन्थल कुमारले सम्झौतामा हस्ताक्षर गरेका हुन् । भारतीय पेट्रोलियम तथा नेचुरल ग्यास मन्त्रालयका सचिव पङ्कज जैन र इण्डियन आयल कर्पोरेसनका अध्यक्ष भिसतिस कुमारको सम्झौता कार्यक्रममा उपस्थिति रहेको थियो । नेपाल आयल निगमका अनुसार यो सम्झौताले नेपालमा पेट्रोलियम आपूर्तिको प्रभावकारी व्यवस्थापनमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ ।
१५ अर्ब रुपैयाँको लागतमा ११२ किलोमिटर पाइपलाइन
यी दुई पाइपलाइन र टर्मिनल परियोजनाको कुल लागत करिब १५ अर्ब रुपैयाँ रहेको छ । सम्झौता अनुसार परियोजनाहरूले नेपालमा पेट्रोलियम आपूर्तिको सञ्जाललाई मजबुत बनाउँदै दुवै देशबीचको ऊर्जा सहकार्यलाई थप सुदृढ बनाउने विश्वास गरिएको छ । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका क्रममा यी आयोजनालाई अगाडि बढाउने सहमति भएको थियो ।
६२ किमी लामो अमलेखगञ्ज–लोथर पाइपलाइन परियोजना
अमलेखगञ्जदेखि चितवनको लोथरसम्म ६२ किमी लामो पेट्रोलियम पाइपलाइन परियोजना पनि भारत सरकारको अनुदानमा निर्माण गरिनेछ । लोथरमा ९१ हजार ९ सय किलोलिटर क्षमताको ‘स्मार्ट ग्रिनफिल्ड टर्मिनल’ निर्माण हुनेछ, जुन भारत सरकारको प्राविधिक सहयोगमा नेपाल आयल निगमले निर्माण गर्नेछ ।
५० किमी लामो सिलिगुडी–चारआली पाइपलाइन निर्माण
सम्झौता अनुसार भारतको सिलिगुडीदेखि नेपालका झापास्थित चारआलीसम्म ५० किलोमिटर लामो पेट्रोलियम पाइपलाइन निर्माण गरिनेछ । उक्त पाइपलाइनमार्फत नेपालमा सहज र सुरक्षित पेट्रोलियम आपूर्ति सुनिश्चित हुने अपेक्षा गरिएको छ ।
चारआलीमा १८ हजार ९ सय किलोलिटर क्षमताको ‘स्मार्ट ग्रिनफिल्ड टर्मिनल’ पनि निर्माण हुने जनाइएको छ, जसले पेट्रोलियम भण्डारण र आपूर्ति व्यवस्थापनमा सुधार ल्याउनेछ ।