ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकहरूमाथि प्रहरीले निगरानी कडाइ गरेसँगै एकै दिनमा २० लाख रुपैयाँभन्दा बढी राजस्व सङ्कलन भएको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा मात्रै विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने २ हजार जना सवारी चालकहरू कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा कुल २० लाख ४ हजार १४ रुपैयाँ राजस्व दाखिला भएको छ । कारबाहीमा परेकामध्ये सबैभन्दा धेरै अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने १ हजार २५६ जना रहेका छन्। त्यस्तै, नियमविपरीत राइड सेयरिङ गर्ने १२९ जना, तीव्र गतिमा सवारी चलाउने ११३ जना र लेन अनुशासन पालना नगर्ने १०७ जना चालकहरू कारबाहीमा परेका छन् ।
यसैगरी एकतर्फी सडकमा सवारी चलाउने ९६ जना, सडक पेटीमा सवारी साधन पार्किङ गर्ने ९३ जना, निषेधित क्षेत्रमा हर्न बजाउने ८४ जना, मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ६१ जना तथा ट्राफिक लाइट उल्लङ्घन गर्ने ६१ जना चालकहरूलाई पनि ट्राफिक प्रहरीले कारबाही गरेको कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार सवारी व्यवस्थापन र दुर्घटना न्यूनीकरणका लागि निगरानी अझ कडाइ गरिने छ ।