नियमित रूपमा पक्राउ र कानुनी कारबाही भइरहे पनि पर्सामा अवैध हुण्डी कारोबारमा उल्लेखनीय कमी आउन सकेको छैन ।
जिल्ला प्रहरी कार्यालय पर्साको पछिल्ला तीन आर्थिक वर्षको तथ्यांकले पक्राउ पर्ने व्यक्ति र बरामद हुने रकमका आधारमा हुण्डी कारोबार निरन्तर भइरहेको देखाएको छ । पर्सा प्रहरीले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अन्तर्गत हुण्डी कारोबारसम्बन्धी मुद्दामा अनुसन्धान तथा कारबाही निरन्तर जारी रहेको जनाएको छ । यद्यपि पक्राउ पर्ने अधिकांश व्यक्ति रकम ओसारपसार गर्ने भरिया मात्र हुने गरेका छन् भने कारोबार सञ्चालन गर्ने मुख्य गिरोहसम्म पुग्न अझै चुनौती रहेको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार भारत पुगेको नेपाली रुपैयाँ विभिन्न व्यक्तिमार्फत पुनः नेपाल भित्र्याएर अवैध रूपमा कारोबार गर्ने गरिएको छ । नेपाल–भारत खुला सीमा तथा अनौपचारिक माध्यमको प्रयोगका कारण यस्ता गतिविधि नियन्त्रण गर्न कठिनाइ भइरहेको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ मा हुण्डी कारोबारसम्बन्धी ७ वटा मुद्दा दर्ता भएका थिए । ती घटनामा ११ जना पक्राउ परेका थिए भने ६२ लाख ८१ हजार ५ सय रुपैयाँ बरामद गरिएको थियो । आर्थिक वर्ष २०८२/८३ मा ८ वटा मुद्दा दर्ता हुँदा ९ जना पक्राउ परेका थिए । उक्त अवधिमा ६६ लाख ७४ हजार रुपैयाँ बरामद भएको थियो ।
चालु आर्थिक वर्ष २०८३/८४ मा हालसम्म ८ वटा मुद्दा दर्ता भइसकेका छन् । ती घटनामा १२ जना पक्राउ परिसकेका छन् भने ५३ लाख २१ हजार ४ सय ७० रुपैयाँ बरामद भएको प्रहरीको तथ्यांकमा उल्लेख छ ।
तथ्यांकले प्रत्येक वर्ष हुण्डीसम्बन्धी मुद्दा, पक्राउ पर्ने व्यक्तिको संख्या तथा बरामद रकम उच्च रहँदै आएको देखाउँछ । यसले नियन्त्रणका प्रयास जारी रहे पनि अवैध हुण्डी कारोबार प्रभावकारी रूपमा रोक्न चुनौती कायम रहेको संकेत गरेको छ ।
पर्सा प्रहरीका प्रवक्ता डीएसपी राजु कार्कीले खुला सीमाको दुरुपयोग गर्दै हुने अवैध वित्तीय कारोबार नियन्त्रणका लागि निगरानी, गस्ती तथा अनुसन्धानलाई अझ प्रभावकारी बनाइने बताए ।