आकर्षक तलबको प्रलोभन देखाउँदै विभिन्न देशमा वैदेशिक रोजगारीमा पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–६ बस्ने काभ्रे घर भएका ३८ वर्षीय सरोज पन्त र टोखा नगरपालिका–३ बस्ने रामेछाप घर भएका २२ वर्षीय अनिल खत्री रहेका छन् ।
प्रहरीका अनुसार सरोज पन्तले आयरल्याण्ड पठाइदिन्छु भन्दै एक जना पीडितबाट १६ लाख रुपैयाँ असुलेका थिए भने अनिल खत्रीले यूएई पठाइदिन्छु भन्दै छ जना पीडितबाट २३ लाख रुपैयाँ लिएको पाइएको छ । रकम लिएपछि दुवै जना सम्पर्कविहीन भएको पीडितहरूको उजुरीमा उल्लेख छ । उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले सरोज पन्तलाई काठमाडौं महानगरपालिका–८ र अनिल खत्रीलाई टोखा नगरपालिका–६ बाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।