काठमाडौं | राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ अन्तर्गत सञ्चालन गरिएको ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
बोर्डका अनुसार असार १ देखि ९ गतेसम्म सञ्चालन भएको ग्रेडवृद्धि परीक्षामा आवेदन दिएका १ लाख ४८ हजार ५०७ परीक्षार्थीमध्ये १ लाख २९ हजार १९४ जना परीक्षामा सहभागी भएका थिए। तीमध्ये ८३ हजार ५२३ जना उत्तीर्ण भएका छन् ।
बोर्डले परीक्षाफल २० वटा विभिन्न संस्थाका वेबसाइट, आइभीआर (IVR) सेवा तथा एसएमएस–यूएसएसडी (SMS/USSD) सेवामार्फत हेर्न सकिने जनाएको छ ।
परीक्षाफलप्रति चित्त नबुझेका परीक्षार्थीले असार २५ गतेदेखि ३१ गतेसम्म पुनर्योग (Retotaling) का लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको बोर्डले जनाएको छ ।
बोर्डका अनुसार नतिजा प्रकाशनका क्रममा कुनै प्राविधिक त्रुटि वा अन्य समस्या देखिएमा आवश्यक परीक्षण तथा प्रमाणीकरणपछि सच्याइने व्यवस्था गरिएको छ ।