काठमाडौंको गोकर्णेश्वर–८ माकलबारीस्थित जया मल्टिपल क्याम्पसले मधेश विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपकबहादुर शाक्यलाई सम्मान गरेको छ ।
शनिबार क्याम्पसमा आयोजित कक्षा १२ का विद्यार्थीहरूको बिदाइ तथा सम्मान कार्यक्रमका अवसरमा उच्च शिक्षाको विकासमा पुर्याएको उल्लेखनीय योगदानको कदर गर्दै उहाँलाई ‘लेटर अफ एप्रिसिएसन’सहित सम्मान गरिएको हो । कार्यक्रममा क्याम्पस प्रमुख भवानी पौडेल, जया देवकोटा फाउन्डेशनका अध्यक्ष जगन्नाथ देवकोटा तथा कार्यक्रमका अध्यक्ष देवी घिमिरेले प्रा. डा. शाक्यलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए । सो अवसरमा प्रा. डा. शाक्यको दूरदर्शी नेतृत्व, शैक्षिक समर्पण तथा गुणस्तरीय, समावेशी र पहुँचयोग्य उच्च शिक्षा प्रवर्द्धनमा खेलेको भूमिकाको उच्च प्रशंसा गरिएको थियो। साथै, विश्वविद्यालयको सुदृढीकरण, अनुसन्धान, नवप्रवर्तन, सुशासन तथा व्यावहारिक शिक्षाको विकासमा उहाँले पुर्याएको योगदान प्रेरणादायी रहेको वक्ताहरूले बताएका थिए ।
प्रा. डा. शाक्यको नेतृत्वले नेपालको उच्च शिक्षा क्षेत्रको सशक्तीकरण तथा गुणस्तर अभिवृद्धिमा महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै आगामी दिनमा मधेश विश्वविद्यालयलाई थप प्रगतिशील तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी बनाउन उहाँ सफल हुने विश्वास व्यक्त गरिएको थियो ।
कार्यक्रममा क्याम्पस प्रमुख भवानी पौडेलले शिक्षा क्षेत्रमा लामो समयदेखि समर्पित व्यक्तित्वलाई सम्मान गर्न पाउँदा खुसी व्यक्त गरे भने सम्मानित व्यक्तित्व प्रा. डा. शाक्यले क्याम्पस परिवारप्रति आभार व्यक्त गर्दै विद्यार्थीहरूको उज्ज्वल भविष्यका लागि प्रेरणादायी सन्देश दिएका थिए ।