बाराको महागढीमाई नगरपालिका–१ बरियारपुरस्थित विश्वप्रसिद्ध गढीमाई मन्दिरमा भएको गहना चोरीको घटनाप्रति स्थानीयवासीले गम्भीर ध्यानाकर्षण गराउँदै निष्पक्ष छानबिन, दोषीको तत्काल पहिचान तथा कानुनी कारबाहीको माग गरेका छन् ।
साउन १० गते आइतबार राति मन्दिरको ताला तोडेर चार थान गहना चोरी भएको घटनाको चार दिनपछि बुधबार स्थानीयवासीले मन्दिर परिसरमै पत्रकार सम्मेलन गर्दै मन्दिरमा जडान गरिएको सीसीटीभी क्यामराको फुटेज सार्वजनिक गर्न र घटनाको सत्यतथ्य बाहिर ल्याउन सम्बन्धित निकायसँग माग गरेका हुन् ।
पत्रकार सम्मेलनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारा जिल्लाका निवर्तमान सभापति चन्दनकुमार स्वर्णकारले धार्मिक आस्थाको केन्द्रका रूपमा रहेको गढीमाई मन्दिरमा भएको चोरीको घटनाले सर्वसाधारणमा गम्भीर चिन्ता र असुरक्षाको भावना पैदा गरेको भन्दै पारदर्शी अनुसन्धान गर्न आग्रह गरे ।
मन्दिरका मूल पुजारी शिव चौधरीका अनुसार चोरीमा चाँदीको मुकुट, सुनको जलप लगाइएको चाँदीको हार, सुनको तिलहरी र सुनको हार गरी चार थान बहुमूल्य गहना चोरी भएका छन् ।
यता जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले मन्दिरमा जडान गरिएको सीसीटीभी क्यामराको फुटेजका आधारमा अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।
उनका अनुसार घटनामा संलग्न व्यक्तिहरूको हालसम्म पहिचान हुन सकेको छैन। उनीहरूको खोजी तथा अनुसन्धान कार्यलाई तीव्र बनाइएको प्रहरीले जनाएको छ ।