वीरगंज महानगरपालिकामा लामखुट्टेको बढ्दो प्रकोप र दुर्गन्धित नालाबाट निस्कने दुर्गन्धले नगरवासीको जनजीवन कष्टकर बन्दै गएको छ ।
लामखुट्टेको टोकाइ र फोहोरको दुर्गन्धका कारण स्थानीयवासीले सास्ती भोग्नुपरे पनि लामखुट्टे नियन्त्रणका लागि औषधि छर्कने तथा सरसफाइ गर्ने काम नियमित रूपमा भइरहेको छ कि छैन भन्ने प्रश्न उठेको छ ।
नगरका विभिन्न स्थानमा फोहोर र दुर्गन्धित नालाको समस्या देखिँदा लामखुट्टेको प्रकोप बढ्ने तथा जनस्वास्थ्यमा असर पर्ने जोखिमसमेत रहेको छ । यस्तो अवस्थामा महानगरपालिकाले सरसफाइ र लामखुट्टे नियन्त्रणका लागि कस्ता कदम चालिरहेको छ भन्ने विषयमा नागरिकले जवाफ खोजिरहेका छन्।
लामखुट्टेको टोकाइबाट विभिन्न रोग फैलिन सक्ने जोखिमका बीच नगरवासीले फोहोर र दुर्गन्ध सहेर बस्नुपर्ने अवस्था कहिलेसम्म रहने ? लामखुट्टे नियन्त्रणका लागि औषधि छर्कने काम प्रभावकारी रूपमा भइरहेको छ कि छैन ? नाला सफाइ र फोहोर व्यवस्थापनमा सम्बन्धित निकायले पर्याप्त ध्यान दिएको छ कि छैन ?
नागरिकको स्वास्थ्य र स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार सुनिश्चित गर्नु महानगरपालिकाको जिम्मेवारी हो। तर, लामखुट्टेको प्रकोप र दुर्गन्धित नालाको समस्या समाधानका लागि प्रभावकारी पहल नभएको हो भने त्यसको जवाफदेहिता कसले लिने ?
यिनै प्रश्न र नागरिकका सरोकारसहित आजको ‘हामीलाई भन्नुछ’ कार्यक्रममा वीरगंजको लामखुट्टे नियन्त्रण, सरसफाइ र जनस्वास्थ्यप्रति महानगरपालिकाको जिम्मेवारीबारे चर्चा गरिँदैछ।