बाराको जितपुरसिमरा उपमहानगरपालिका–१, पथलैया चेकपोइन्टबाट प्रहरीले काठमाडौं ल्याउँदै गरेको करिब ८० हजार रुपैयाँ मूल्य बराबरको अवैध पटका बरामद गरेको छ । प्रहरीले पटका ओसारपसारमा संलग्न रहेको आरोपमा दुई जनालाई नियन्त्रणमा लिएको छ ।
प्रहरी चौकी पथलैयाबाट प्रहरी वरिष्ठ नायब निरीक्षक युवराज दाहालको कमाण्डमा खटिएको टोलीले बिहान करिब ८:३० बजे सिम्रौनगढबाट काठमाडौं जाँदै गरेको बा.प्र.०१–०३४ च ७३१५ नम्बरको माछा लोड गरिएको पिकअप गाडी जाँच गर्ने क्रममा पटका बरामद गरेको हो ।
प्रहरीका अनुसार गाडीमा लुकाइछिपाइ ल्याइँदै गरेका विभिन्न सात प्रकारका ६४ डिब्बा पटका फेला परेका थिए । बरामद पटाकाको अनुमानित मूल्य करिब ८० हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा रौतहटको राजपुर कुडिया नगरपालिका–५ का २८ वर्षीय विनोद महतो र बाराको पचरौता नगरपालिका–७ का २६ वर्षीय राधाकृष्ण सहनी रहेका छन् ।
प्रहरीले बरामद गरेका पटाकामा पेटा स्काइ प्लस ३० डिब्बा, रेड क्राकलिङ सर्ट १० डिब्बा, फ्लावर गार्डेन एक डिब्बा, सिङ्गल रकेट १२ डिब्बा, फ्लावर म्याजिक ६ डिब्बा, फ्लाइङ स्टार चार डिब्बा र फ्लावर सो एक डिब्बा रहेका छन् ।
प्रहरीले पटका र त्यसको ओसारपसारमा प्रयोग गरिएको पिकअप गाडी नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।