पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय एकटाङ्गा र प्रहरी चौकी मनवाको संयुक्त टोलीले काठ र गाडीसहित चालकलाई नियन्त्रणमा लिएको हो । टोलीमा प्रहरी नायब निरीक्षक (सई) मनोज यादव र प्रहरी सहायक निरीक्षक (असई) ऋषीराज भट्टराई सहभागी थिए ।
प्रहरीका अनुसार पर्साको छतिवनटाडी र बढनियारस्थित राष्ट्रिय वन क्षेत्रबाट सालको गोलिया काठ अवैध रूपमा कटान गरी राति करिब २ बजे फर्निचर उद्योगतर्फ लैजाँदै गरेको अवस्थामा पर्सागढी नगरपालिका–२, गोडपसराबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।
प्रहरीले ना. ५ त १२५४ नम्बरको पिकअप गाडीमा लोड गरिएको सात थान सालको गोलिया काठ बरामद गरेको जनाएको छ । घटनामा संलग्न रहेको आरोपमा पर्सागढी नगरपालिका–२, छतिवनटाडी निवासी पिकअप चालक केदार चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका चालक, पिकअप गाडी र बरामद काठलाई हाल इलाका प्रहरी कार्यालय एकटाङ्गामा राखिएको छ । आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि उनीहरूलाई डिभिजन वन कार्यालय पर्सामा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।