नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको घुमुवा भएको भन्दै भन्सार छलीका सामान पास गराइदिने प्रलोभन देखाएर रकम असुली गरेको आरोपमा पर्साबाट एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पर्साको पोखरिया नगरपालिका–५ निवासी ५१ वर्षीय अशोककुमार वर्णवाल रहेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वर्णवालले आफू नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको घुमुवा भएको तथा सुरक्षाकर्मीसँग राम्रो चिनजान रहेको भन्दै भन्सार छली र चोरी–तस्करीका सामान सहजै पास गराइदिने आश्वासन दिने गरेका थिए ।
प्रहरीका अनुसार सामान पास गराइदिन रकम माग्ने र रकम नदिए पक्राउ गराइदिने धम्की दिँदै असुली गर्ने गरेको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको हो। उनी बिचौलियाका रूपमा समेत काम गर्ने गरेको आरोप छ ।
वर्णवाललाई गत कात्तिक ६ गते पोखरिया नगरपालिका–५ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीमाथि कानुनबमोजिम म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।
त्यस्तै, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालको सेवामा जागिर लगाइदिने भन्दै विभिन्न व्यक्तिबाट रकम लिएको भन्ने विषयमा समेत उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ ।