कुनै समय रोपाइँ सकिएको खुसीयालीमा बाराको सिम्रौनगढसहित मधेसका विभिन्न क्षेत्रमा मनाइने कदवा पखार परम्परा यस वर्ष भने खासै देखिएन ।
कृषक समुदायमा पुस्तौंदेखि चलिआएको यो परम्परा आधुनिक खेती प्रणाली, कृषि यान्त्रीकरण र बदलिँदो जीवनशैलीका कारण क्रमशः लोप हुँदै गएको स्थानीयहरू बताउँछन् । कदवा पखार रोपाइँको अन्तिम दिन मनाइने कृषक खेल तथा उत्सव हो । आफ्नो खेतमा रोपाइँ सकिने दिन किसानको घरमा बिहानैदेखि विभिन्न परिकार तयार पारिन्थ्यो । कतिपय परिवारले मांसाहारी परिकारसमेत बनाउने चलन थियो ।
मध्याह्नमा खेतमा रोपाइँ गरिरहेका कामदारलाई भोज खुवाएपछि कदवा पखार सुरु हुन्थ्यो । त्यस क्रममा कामदारहरूले खेतधनी किसानलाई शरीरभरि हिलो लगाइदिने र एकअर्कामाथि हिलो छ्याप्दै रमाइलो गर्ने परम्परा थियो ।
हिलो खेल्ने क्रममा लोकगीत गाउने, नाच्ने र ठट्टा गर्ने गरिन्थ्यो । बाटो भएर हिँड्ने यात्रुलाई समेत हिलो छ्यापेर कदवा पखार भइरहेको जानकारी दिने चलन रहेको स्थानीयहरू सम्झन्छन् । कतिपय यात्रु रमाइलोमा सहभागी हुने गर्दथे भने कतिपय अर्को बाटो जाने गर्थे ।
यस परम्परामा महिला र पुरुष दुवैको सहभागिता रहने गरेको थियो । सामान्यतः महिला–महिला र पुरुष–पुरुषबीच हिलो खेल्ने भए पनि गाउँको सम्बन्धअनुसार भाउजू, सालीलगायतबीच समेत रमाइलो गर्दै हिलो छ्याप्ने चलन रहेको स्थानीयहरूको भनाइ छ ।
कदवा पखार थारू समुदायमा समेत प्रचलित रहेको र मधेसमा बसोबास गर्ने पहाडी कृषकहरूले पनि यो परम्परा मनाउने गरेका थिए । रोपाइँपछि राति खेत जोत्न प्रयोग गरिएका गोरुलाई विशेष परिकार खुवाउने तथा हलो जोत्ने कामदारलाई खाना र केही रकम दिने चलनसमेत रहेको थियो ।
तर पछिल्लो समय ट्र्याक्टर, रोपाइँ मेसिनलगायत आधुनिक कृषि प्रविधिको प्रयोग बढ्दै गएपछि र मानिसहरूको जीवनशैली परिवर्तन भएपछि कदवा पखारजस्ता परम्परा हराउँदै गएका छन् ।
दशकअघिसम्म व्यापक रूपमा मनाइने यो परम्परा अहिले कतैकतै मात्र सीमित भएको छ । बाराको सिम्रौनगढ क्षेत्रमा समेत यस वर्ष कदवा पखारको पुरानो रौनक देखिन नसकेको स्थानीयहरूले बताएका छन् ।