रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएका सवारी चालक सागर कर्णको परिवारलाई वीरगंज युवा समाजले घरमै पुगेर राहत सामग्री तथा नगद सहयोग गरेको छ ।
वीरगंज महानगरपालिका–२७, उदयपुर घुर्मी (कोहरी), पर्साका कर्ण परिवारका मुख्य कमाउने व्यक्ति थिए। सवारी चालकका रूपमा कार्यरत रहेका बेला भोटेकोशीमा आएको भीषण बाढीमा परी उनी बेपत्ता भएका हुन् ।
परिवारको मुख्य आर्थिक आधार गुमेपछि उनकी श्रीमती सरिता कर्ण, दुई साना बालबालिका तथा वृद्ध आमाबाबुलाई दैनिक गुजारा चलाउन समस्या भइरहेको छ ।
बाढी प्रभावित क्षेत्रमै अधिकांश राहत केन्द्रित भइरहेका बेला पर्सामै आर्थिक संकटमा परेको कर्ण परिवारलाई लक्षित गर्दै वीरगंज युवा समाजको टोली घरमै पुगेको हो । समाजले सरिता कर्णलाई खाद्यान्न, तरकारी, साबुन तथा सर्फलगायत सरसफाइ सामग्री र नगद ५ हजार १ सय रुपैयाँ सहयोग गरेको जनाएको छ ।
राहत हस्तान्तरण कार्यक्रममा वीरगंज युवा समाजका अध्यक्ष संजीव थापाले प्राकृतिक विपत्तिको प्रभाव भौगोलिक सीमामा सीमित नहुने बताउनुभयो । भोटेकोशीमा भएको घटनाका कारण वीरगंजकै एक परिवारको चुलो निभ्ने अवस्था आउनु दुःखद भएको उहाँको भनाइ थियो ।
“विपद्का बेला अधिकांश राहत प्रभावित क्षेत्रमा केन्द्रित हुँदा टाढा रहेका वास्तविक पीडित परिवार छुट्न सक्छन्। त्यसैले परिवारको चुलो बलोस् भन्ने उद्देश्यले उहाँहरूको घरमै पुगेर सहयोग गरेका हौँ,” अध्यक्ष थापाले भन्नुभयो ।
कार्यक्रमका संयोजक मनोज गुप्ताले विपद्को समयमा स्वतःस्फूर्त रूपमा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै आगामी दिनमा पनि यस्ता सामाजिक कार्यमा सहयोग र सहकार्यको अपेक्षा व्यक्त गर्नुभयो ।
सहयोग प्राप्त गरेपछि सागर कर्णका बुवाले परिवारमाथि आइपरेको दुःखको समयमा वीरगंज युवा समाज घरमै आएर सहयोग गरेकोमा आभार व्यक्त गर्नुभयो। उहाँले समाजको सहयोगले परिवारलाई हौसला मिलेको बताउनुभयो ।
युवा समाजको सहयोगले संकटमा परेको कर्ण परिवारलाई राहत पुगेको भन्दै स्थानीयस्तरमा समेत उक्त कार्यको प्रशंसा गरिएको छ ।
राहत हस्तान्तरण कार्यक्रममा पर्सा जिल्ला फुटबल संघका अध्यक्ष रोशन गुप्ता, वीरगंज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह, संस्थाका सचिव विनोद धिमाल, कोषाध्यक्ष सुशील श्रेष्ठ तथा सदस्यहरू सुशील सिंह, सुमन पौडेल, राज भण्डारी, पुष्पराज कोइराला, विपिन भण्डारी, काजल कोइराला, मञ्जु भण्डारी र रोजी प्रधानलगायत सञ्चारकर्मी आकाश पटेलको उपस्थिति रहेको थियो ।