२०औं एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा नेपालले श्रीलंकासँग खेल्ने भएको छ ।
समूह “ए” को विजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको नेपालले श्रीलंकासँग खेल्ने भएको हो ।
शनिबार जापानसँगको समूह चरणको अन्तिम खेल वर्षाका कारण नतिजाविहीन भएपछि दुवै टोलीले १–१ अंक बाँडे । त्यससँगै नेपालले दुई खेलबाट ३ अंक जोड्दै समूह विजेताको रूपमा अन्तिम आठमा स्थान बनायो ।
नेपालले अब क्वाटरफाइनलमा श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ । समूह उपविजेता अफगानिस्तानले भने भारतको सामना गर्नेछ ।
यसअघि नेपालले पहिलो खेलमा अफगानिस्तानलाई ५ विकेटले पराजित गर्दै क्वाटरफाइनल नजिक पुगेको थियो ।
नेपाल र श्रीलंकाबीचको क्वाटरफाइनल खेल मंगलबार बिहान पौने ६ बजेदेखि सुरु हुनेछ ।
नेपालले १९औं एसियन गेम्सको क्वाटरफाइनलमा भारतसँग खेलेको थियो जहाँ पराजित भएको थियो ।