पर्साको जिराभवानी गाउँपालिका–२, सेढवास्थित मिनी रंगशालामा प्रथम जिराभवानी भेट्रान कप–२०८३ आयोजना हुने भएको छ ।
जिराभवानी भेट्रान क्लबको आयोजना तथा प्रगति युवा समाज नेपाल, जिराभवानी–२ सेढवाको सहआयोजनामा प्रतियोगिता असोज २४ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुने भएको हो ।
प्रतियोगिताबारे जानकारी दिन शनिबार जिराभवानी भेट्रान क्लबका अध्यक्ष चक्रधारी चौधरीको अध्यक्षतामा तथा युवा समाजसेवी कृष्ण चौधरीको प्रमुख आतिथ्यमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो ।
पत्रकार सम्मेलनमा युवा समाजसेवी कृष्ण चौधरीले गाउँघरका युवालाई खेलकुदतर्फ आकर्षित गर्दै कुलतबाट जोगाउने उद्देश्यले भेट्रान कप आयोजना गरिएको बताउनुभयो। ४० वर्ष उमेर कटेका खेलाडीहरू मैदानमा उत्रिएर फुटबल खेल्दा नयाँ पुस्तामा समेत खेलप्रति रुचि र उत्साह बढ्ने उहाँको भनाइ थियो ।
“खेलकुदले युवालाई अनुशासनमा राख्नुका साथै सकारात्मक गतिविधितर्फ अग्रसर गराउन महत्वपूर्ण भूमिका खेल्छ,” चौधरीले भन्नुभयो ।
प्रतियोगितामा १६ वटा भेट्रान क्लबलाई सहभागी गराउने लक्ष्य राखिएको छ। हालसम्म ११ वटा टोलीको सहभागिता सुनिश्चित भइसकेको जिराभवानी भेट्रान क्लबका अध्यक्ष चक्रधारी चौधरीले जानकारी दिनुभयो। बाँकी टोलीको सहभागिता सुनिश्चित गर्न तयारी भइरहेको उहाँले बताउनुभयो ।
प्रतियोगिताको विजेता टोलीले नगद ५० हजार रुपैयाँसहित ट्रफी तथा उपविजेता टोलीले २५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्ने आयोजकले जनाएको छ ।
आयोजकका अनुसार प्रतियोगिताले ४० वर्षमाथिका खेलाडीलाई पुनः खेलमैदानमा सक्रिय गराउनुका साथै स्थानीयस्तरमा खेलकुदको वातावरण निर्माण गर्न र नयाँ पुस्तालाई फुटबलतर्फ आकर्षित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।