नेपालमा ग्यासको अभाव छ कि उपभोक्ताको ‘स्टोरेज’ले माग बढाएको हो ? चाडपर्व नजिकिँदै गर्दा ग्यासको आपूर्ति, मूल्यवृद्धि, सुरक्षा र उद्योगीका चुनौतीबारे उठिरहेका प्रश्नबीच ‘उद्यमी मञ्च’मा हामीले लियो ग्यास/बारा ग्यासका प्रबन्ध निर्देशक निर्मल खत्रीज्यूसँग ग्यासको वास्तविक अवस्था, आपूर्ति प्रणाली र उपभोक्ताले अपनाउनुपर्ने सावधानीबारे ‘उद्यमी मञ्च’ मा प्रस्ताेता धनन्जय मिश्राले गर्नुभएकाे कुराकानी :
सर्वप्रथम उद्योग क्षेत्रमा तपाईं कसरी प्रवेश गर्नुभयो ?
मेरो व्यावसायिक यात्रा सानै उमेरदेखि सुरु भएको हो । सुरुमा हामी इँटा उद्योगमा थियौँ । रानीघाटमा करिब १५–२० वर्ष इँटा भट्टा सञ्चालन गरियो । त्यससँगै मिठाई तथा अन्य व्यवसायमा पनि संलग्न भएँ । त्यसपछि करिब १५ वर्षअघि ग्यास उद्योगमा प्रवेश गरेँ । अहिले हामीसँग बारा ग्यास ब्रान्डअन्तर्गत बोटलिङ प्लान्ट सञ्चालनमा छ । समग्रमा भन्नुपर्दा करिब २०–२५ वर्षको व्यावसायिक अनुभव मैले हासिल गरेको छु ।
युवा पुस्ता अहिले उद्यमशीलतातर्फ आकर्षित छ । तर अनुभवको कमी हुन्छ । तपाईंको लामो व्यावसायिक अनुभवबाट नयाँ उद्यमीले के सिक्न सक्छन् ?
व्यवसाय भनेको पैसा कमाउने माध्यम मात्र होइन, यो एउटा जिम्मेवारी पनि हो । कुनै पनि क्षेत्रमा प्रवेश गर्नुअघि त्यसबारे अध्ययन र अनुसन्धान आवश्यक छ । व्यवसायमा चुनौती आउँछन्, समस्या आउँछन् । तर त्यसबाट भाग्ने होइन, त्यसलाई सामना गर्दै अघि बढ्नुपर्छ । सबैभन्दा महत्वपूर्ण कुरा भनेको इमानदारी, मेहनत, समर्पण र स्पष्ट दृष्टिकोण हो ।
अर्को महत्वपूर्ण पक्ष टिमवर्क हो । एउटा उद्योग उद्योगीले मात्र चलाउने होइन । कर्मचारी, डिलर, ड्राइभर, श्रमिक, विक्रेता र उपभोक्तासम्म सबैको भूमिका हुन्छ ।
अहिले ग्यासको अभाव भएको चर्चा निकै सुनिन्छ । तपाईं उद्योगीको दृष्टिकोणबाट हेर्दा वास्तविक समस्या के हो ?
वास्तविकता के हो भने नेपालमा अहिले ग्यासको अभाव छैन । पर्याप्त मात्रामा ग्यास आइरहेको छ ।
नेपालको सामान्य मासिक खपत करिब ४५ हजारदेखि बढीमा ५० हजार मेट्रिक टनसम्म हुन्छ । तर गत अगस्ट महिनामा मात्रै करिब ६५ हजार मेट्रिक टन ग्यास उठाइएको थियो । यसको मुख्य कारण उपभोक्ताले आवश्यकताभन्दा बढी ग्यास स्टक गर्न थालेका हुन् । ग्यास नपाइएला कि भन्ने डरले घर–घरमा धेरै सिलिन्डर राख्न थालिएपछि माग अस्वाभाविक रूपमा बढेको हो ।
त्यसो भए अहिले देखिएको ग्यास अभाव वास्तविकभन्दा बढी मानसिक त्रास अर्थात् ‘प्यानिक’का कारण हो ?
धेरै हदसम्म त्यही हो । सामान्य अवस्थामा एउटा परिवारलाई एउटा सिलिन्डर डेढ महिनासम्म पुग्न सक्छ । तर उपभोक्ताले भोलि ग्यास नपाइएला भनेर आजै दुई–चारवटा सिलिन्डर राख्न थालेपछि बजारमा चाप पर्छ । एउटै व्यक्तिले फरक–फरक डिलरबाट सिलिन्डर लिने र घरमा स्टक गर्ने प्रवृत्तिले पनि समस्या बढाएको छ ।
तर ग्यास आपूर्ति गर्ने क्रममा भारततर्फका रिफाइनरीमा समस्या आएको कुरा पनि छ नि ?
हो, केही समय भारतका हल्दिया र दुर्गापुर रिफाइनरीसँग सम्बन्धित समस्या आएका थिए । त्यसले आपूर्ति व्यवस्थापनमा केही चुनौती सिर्जना गर्यो । नेपालमा भारतका विभिन्न रिफाइनरीबाट ग्यास आउँछ । केही रिफाइनरी बन्द हुँदा अन्य रिफाइनरीले अतिरिक्त भार लिनुपर्यो । ढुवानी दूरी बढ्दा गाडीको रोटेसनमा पनि असर पर्छ ।
तर यसको अर्थ भारतबाट नेपालमा ग्यास आपूर्ति रोकिएको होइन । नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनबीच निरन्तर समन्वय भइरहेको छ ।
अहिलेको प्राकृतिक विपद्ले पनि ग्यास आपूर्तिमा असर गरेको छ । विशेषगरी काठमाडौंसम्म ग्यास पुर्याउन कस्तो समस्या छ ?
भोटेकोशी क्षेत्रमा आएको बाढी तथा पहिरोले सडक यातायात प्रभावित भएपछि काठमाडौं उपत्यकातर्फ ग्यास बुलेट लैजान समस्या भएको छ ।
१४ र १६ चक्के ठूला ट्यांकरहरू सबै सडकमा सहज रूपमा जान सक्दैनन् । त्यसैले अहिले बारा, पर्सा, चितवन र मकवानपुर क्षेत्रका उद्योगमा अतिरिक्त भार परेको छ । काठमाडौंमा आवश्यक पर्ने ग्यासको बोटलिङसमेत अहिले वीरगञ्ज–बारा क्षेत्रका उद्योगहरूले गरिरहेका छन् । हामीले यसलाई व्यवसायभन्दा पनि राष्ट्रिय दायित्वका रूपमा लिएका छौँ ।
तपाईंहरूले काठमाडौंका लागि समेत ग्यास उपलब्ध गराइरहनुभएको छ । उद्योगीका रूपमा यो कति चुनौतीपूर्ण छ ?
पक्कै पनि चुनौतीपूर्ण छ । हामी आफैँ पनि पाँच महिनादेखि अत्यधिक दबाबमा काम गरिरहेका छौँ । बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म अतिरिक्त सिफ्टमा काम भइरहेको छ । तर देश कठिन अवस्थामा हुँदा उद्योगीले पनि आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ । काठमाडौंका उपभोक्ता पनि हाम्रै देशका नागरिक हुन् । त्यसैले हामीले सकेसम्म सहयोग गरेका छौँ ।
अब ग्यासको मूल्यको कुरा गरौँ । उपभोक्ताले अहिले ग्यासको मूल्य बढेको महसुस गरिरहेका छन् । यसको वास्तविक कारण के हो ?
ग्यासको मूल्य निर्धारणमा अन्तर्राष्ट्रिय बजार, कच्चा तेलको मूल्य र अमेरिकी डलरको विनिमय दरजस्ता विषयले प्रभाव पार्छन् ।
भारतबाट आउने ग्यासको मूल्यमा पनि त्यसअनुसार परिवर्तन हुन्छ । नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसनसँगको मूल्यअनुसार समायोजन गर्छ । अहिले केही समयअघि १ हजार ९१० रुपैयाँ रहेको ग्यासको मूल्य बढेर २ हजार ६० रुपैयाँ पुगेको छ । उपभोक्तामाथि त्यसको प्रत्यक्ष असर परेको छ ।
नेपालमा ग्यासमा सरकारी अनुदान नहुँदा उपभोक्तालाई थप भार परेको हो ?
नेपालमा अहिले प्रत्यक्ष रूपमा उपभोक्तालाई सब्सिडी दिइएको छैन । तर नेपाल आयल निगमले ग्यासमा ठूलो घाटा बेहोर्दै आएको छ । त्यसैले अब दीर्घकालीन रूपमा लक्षित उपभोक्तालाई सहुलियत दिने र व्यावसायिक प्रयोगलाई छुट्टै व्यवस्थापन गर्ने प्रणाली आवश्यक छ ।
तपाईंले ‘कस्टमर भेरिफिकेसन’को कुरा पनि गर्नुभयो । नेपालमा उपभोक्ता पहिचान प्रणाली किन आवश्यक छ ?
अहिले एउटै व्यक्तिले फरक–फरक डिलरबाट धेरै सिलिन्डर लिन सक्ने अवस्था छ । यसले वास्तविक उपभोक्ता र अतिरिक्त स्टक गर्ने उपभोक्ताबीच फरक छुट्याउन गाह्रो हुन्छ ।
यदि ग्राहकलाई कुनै निश्चित डिलरसँग म्यापिङ गरियो वा ग्राहक भेरिफिकेसन प्रणाली लागू गरियो भने कसको कति खपत हुन्छ भन्ने तथ्यांक पनि स्पष्ट हुन्छ । यसले उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन र बजारमा कृत्रिम अभाव सिर्जना हुन नदिन सहयोग गर्छ ।
केही वर्षअघि पनि ग्यासका लागि कार्ड प्रणाली लागू गर्ने प्रयास भएको थियो । त्यो सफल हुन नसक्नुको कारण के होला ?
प्रणाली ल्याउनु मात्र पर्याप्त हुँदैन । त्यसको कार्यान्वयन पनि प्रभावकारी हुनुपर्छ । सरकार, उद्योगी, विक्रेता र उपभोक्ता सबैको जिम्मेवारी हुन्छ । हामी प्रणाली बनाउन आतुर हुन्छौँ, तर कार्यान्वयनमा कमजोरी देखिन्छ । अब आउने प्रणालीलाई सबै पक्षको सहभागितामा व्यावहारिक र प्रभावकारी बनाउनुपर्छ ।
ग्यास सकिन लागेको उपभोक्ताले कसरी थाहा पाउने ? प्रविधिमार्फत यसको जानकारी लिन सकिने व्यवस्था गर्न सकिँदैन ?
अहिले त्यस्तो प्रविधियुक्त रेगुलेटरहरू बजारमा उपलब्ध छन्, जसले सिलिन्डरमा कति ग्यास बाँकी छ भन्ने जानकारी दिन सक्छ । तर यसको मूल्य सामान्य रेगुलेटरभन्दा बढी हुन्छ । उपभोक्ताले सुरक्षालाई प्राथमिकता दिएर यस्ता उपकरण प्रयोग गर्नुपर्छ ।
ग्यासबाट हुने दुर्घटनाको मुख्य कारण ग्यास आफैँ हो कि रेगुलेटर तथा पाइपको समस्या ?
धेरै अवस्थामा समस्या ग्यासमा होइन, रेगुलेटर, पाइप वा चुहावटबाट हुने गर्छ । ग्यास चुहिएर आगोको सम्पर्कमा आएपछि दुर्घटना हुन सक्छ । त्यसैले गुणस्तरीय पाइप र रेगुलेटर प्रयोग गर्नु अत्यन्तै महत्वपूर्ण छ । उपभोक्ताले ग्यासको गन्ध आएमा आत्तिनु हुँदैन । तत्काल आगो निभाउने, रेगुलेटर बन्द गर्ने र सुरक्षित स्थानमा जानेजस्ता सावधानी अपनाउनुपर्छ ।
ग्यास सिलिन्डरको सुरक्षाको विषयमा पनि धेरै प्रश्न उठ्ने गर्छ । सिलिन्डरको म्याद कसरी जाँच गर्ने ?
ग्यास सिलिन्डरमा परीक्षणको विवरण उल्लेख गरिएको हुन्छ । सिलिन्डरको निश्चित अवधिपछि हाइड्रो टेस्ट गरिन्छ । हाइड्रो टेस्टमा सिलिन्डरको प्रेसर र अवस्थाको परीक्षण हुन्छ । कुनै समस्या देखिएमा त्यस्तो सिलिन्डर प्रयोगबाट हटाइन्छ । परीक्षणमा ठीक देखिएमा पुनः निश्चित अवधिका लागि प्रयोग गर्न अनुमति दिइन्छ ।
त्यसैले उपभोक्ताले सिलिन्डरको टायर वेट, परीक्षण विवरण र सिलको अवस्था पनि हेर्नुपर्छ ।
ग्यास उद्योगहरूमा सुरक्षाको मापदण्ड कस्तो हुन्छ ?
ग्यास उद्योगमा सुरक्षा सबैभन्दा महत्वपूर्ण विषय हो । हाम्रो उद्योगमा ठूलो क्षमताको पानी भण्डारण प्रणाली, फायर एक्स्टिङ्ग्विसर र आपतकालीन सुरक्षा प्रणाली राखिएको छ । अपरेटरहरूले दैनिक चेकलिस्टअनुसार प्रेसर गेज, जेनेरेटर, कम्प्रेसर रुम, भल्भ तथा अन्य संवेदनशील क्षेत्र जाँच गर्छन् ।
त्यसैगरी कर्मचारीलाई नियमित रूपमा फायर ड्रिल र सुरक्षा तालिम दिइन्छ । डिलरहरूलाई पनि आपतकालीन अवस्थामा उपभोक्तासँग कसरी व्यवहार गर्ने भन्ने तालिम दिइरहेका छौँ ।
ग्यास सिलिन्डरमा बीमाको व्यवस्था छ कि छैन ?
छ । नेपालका ग्यास उद्योगका सिलिन्डरहरू बीमाको दायरामा छन् । हाम्रो कम्पनीले प्रत्येक सिलिन्डरका लागि बीमा व्यवस्था गरेको छ । हाम्रो हकमा करिब एक करोड रुपैयाँसम्मको बीमा कभरको व्यवस्था छ । कुनै दुर्घटना भएमा बीमा कम्पनीसँगको प्रक्रियाअनुसार क्षतिपूर्ति उपलब्ध गराउने व्यवस्था हुन्छ ।
अब उद्योग क्षेत्रको समग्र समस्यातर्फ जाऔँ । ग्यास उद्योगीका प्रमुख समस्या के हुन् ?
विभिन्न समस्या छन् । ढुवानी, कर, टीडीएसलगायतका विषय छन् । विशेषगरी ढुवानीमा नेपाली नम्बरका बुलेट प्रयोग गर्न सकियो भने देशकै पैसा देशभित्र रहन्छ । उद्योगीले पनि सेवा सहज रूपमा पाउँछन् र यातायात व्यवसाय पनि विस्तार हुन्छ । अर्को विषय टीडीएसको हो । विभिन्न ठाउँमा फरक–फरक दरको अभ्यास देखिन्छ । यसलाई सरकारले स्पष्ट र एकरूप बनाउन आवश्यक छ ।
नयाँ पुस्ताका उद्यमीलाई तपाईंको मुख्य सुझाव के छ ?
पहिलो कुरा—उद्यम गर्न डराउनु हुँदैन । तर कुनै व्यवसाय सुरु गर्नुअघि त्यसको बजार, जोखिम, लगानी र सम्भावनाबारे राम्रोसँग अनुसन्धान गर्नुपर्छ । व्यवसायमा चुनौती आउँछन् । त्यसलाई सामना गर्दै अघि बढ्नुपर्छ । इमानदारी, मेहनत र जिम्मेवारीका साथ काम गर्ने हो भने सफलता सम्भव छ ।
र सबैभन्दा महत्वपूर्ण कुरा—व्यवसाय टिमवर्क हो । एक्लै सफल हुन सकिँदैन ।
अन्त्यमा, नेपाल सरकारलाई ग्यास उद्योगीका तर्फबाट तपाईंको मुख्य सुझाव के छ ?
नेपालको अर्थतन्त्रलाई चलायमान बनाउने प्रमुख आधार उद्योग हो । त्यसैले सरकारले उद्योगीलाई समस्या परेको बेला संरक्षण र सहजीकरण गर्नुपर्छ । सरकार र उद्योगीबीच स्पष्ट समन्वय र दीर्घकालीन रोडम्याप आवश्यक छ । कुन क्षेत्रमा कति उद्योग आवश्यक छन्, बजारको आवश्यकता कति छ, आयात–निर्यातको अवस्था के छ भन्ने अध्ययन गरेर नीति बनाउनुपर्छ ।
उद्योगीले लगानी गर्छ, रोजगारी सिर्जना गर्छ र सरकारलाई कर तिर्छ । त्यसैले उद्योगको लगानी सुरक्षित बनाउने दायित्व सरकारको पनि हो ।
अन्त्यमा, अहिले ग्यासको विषयमा सबैभन्दा ठूलो सन्देश नेपाली उपभोक्तालाई के दिन चाहनुहुन्छ ?
मेरो स्पष्ट सन्देश छ—ग्यासको अभाव छैन । उपभोक्ताले आत्तिनुपर्ने अवस्था छैन । नेपालमा आवश्यकताभन्दा बढी ग्यास आयात भइरहेको छ । अगस्ट महिनामा मात्रै सामान्य खपतभन्दा निकै बढी ग्यास उठाइएको छ ।
त्यसैले घरमा आवश्यकताभन्दा बढी सिलिन्डर थुपारेर राख्नु हुँदैन । आज एउटा सिलिन्डर छ भने त्यो सकिन लाग्दा अर्को ल्याउँदा पुग्छ । नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनबीच आपूर्तिका लागि निरन्तर समन्वय भइरहेको छ । आगामी दिनमा पनि ग्यासको आपूर्तिमा ठूलो समस्या नआउनेमा उपभोक्तालाई आश्वस्त पार्न चाहन्छु ।