सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१३ गोबरगढामा पानी जमेको खाल्डोमा डुबेर ५ वर्षीय बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय सुरेश यादवका ५ वर्षीय छोरा विवेक यादव रहेका छन्। घरबाट दक्षिणतर्फ रहेको चौरमा खेल्न गएका विवेक पानी जमेको खाल्डोमा डुबेको अवस्थामा फेला परेका थिए । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेका अनुसार बालकलाई उद्धार गरी घर लगिए पनि त्यतिबेलासम्म उनको मृत्यु भइसकेको थियो ।
घटनाबारे स्थानीयबाट जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय सप्तरीबाट प्रहरी निरीक्षक अनिल साहको नेतृत्वमा प्राविधिक टोली घटनास्थलतर्फ परिचालन गरिएको छ। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।
यसैबीच, सप्तकोशी नदीमा पानीको बहाव बढेसँगै गोबरगढा क्षेत्र बाढीको जोखिममा समेत परेको छ । पानी जमेको खाल्डाखुल्डी तथा नदी आसपासमा बालबालिकालगायत स्थानीयलाई विशेष सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ ।
प्रहरीले सम्भावित दुर्घटना हुन नदिन पानी जमेको स्थान तथा नदी किनारमा बालबालिकालाई एक्लै जान नदिन र जोखिमयुक्त क्षेत्रमा सतर्कता अपनाउन समेत अनुरोध गरेको छ ।
भिडियाे रिपाेर्ट