अविरल वर्षासँगै आएको बाढी, पहिरो तथा हावाहुरीका कारण देशभर दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।
घटनामा एक जना घाइते भएका छन् भने पाँच वटा घरमा क्षति पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शुक्रबार भएको वर्षाजन्य विपद्का घटनामा धादिङ र डोल्पामा एक–एक जनाको मृत्यु भएको हो ।
प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–७ का ३३ वर्षीय मनरुप केसी गाईगोठमा सुतिरहेको अवस्थामा भिरबाट खसेको ढुंगाले लागेर गम्भीर घाइते भएका थिए। स्थानीय स्वास्थ्य चौकी लैजाने क्रममा उनको मृत्यु भएको हो। सोही घटनामा ३८ वर्षीय चन्द्ररुप केसी घाइते भएका छन् ।
त्यस्तै, धादिङको बेनीघाट रोराङ गाउँपालिका–२ की ५५ वर्षीया सुकुमाया चेपाङलाई खानीखोला तर्ने क्रममा खोलाले बगाएको थियो। मलेखुस्थित अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको प्राधिकरणले जनाएको छ।
यसैगरी, पाल्पाको रुम्दीकोट गाउँपालिका–६ की ५९ वर्षीया कृष्णकुमारी सारु पहिरोमा परी बेपत्ता भएकी छन्। शनिबार दिउँसो २ः४५ बजेदेखि पहिरोले घर पुरिएपछि उनी सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ।
पाँच घरमा क्षति
वर्षाका कारण पाल्पाको रुम्दीकोट गाउँपालिकामा दुई वटा घर पूर्णरूपमा क्षतिग्रस्त भएका छन्। पहिरोले पुरिँदा स्थानीय केशुराम सारु मगर र रामबहादुर उचाईका घरमा क्षति पुगेको हो।
त्यस्तै, पाँचथरको हिलिहाङ गाउँपालिका–३ का धनप्रसाद योङहाङको घर ढलेर पूर्णरूपमा क्षतिग्रस्त भएको छ।
ओखलढुंगाको सिद्धिचरण गाउँपालिका–२ का भीमबहादुर कार्कीको घरको गारो भत्किएको छ। अछामको तुर्माखाँद गाउँपालिका–४ मा हावाहुरीले कच्ची घरको जस्तापाता उडाएपछि प्रभावित परिवार छिमेकीको घरमा बसिरहेका छन्।
२९ सडकखण्ड अवरुद्ध
निरन्तरको वर्षासँगै आएको बाढी, पहिरो र लेदोसहितको बहावका कारण देशका विभिन्न प्रदेश जोड्ने प्रमुख राजमार्ग तथा सहायक सडकखण्ड प्रभावित भएका छन् ।
प्राधिकरणले उपलब्ध गराएको विवरणअनुसार शनिबार बिहान ७ बजेसम्म देशभर २९ वटा मुख्य सडकखण्ड प्रभावित भएका छन् । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न राजमार्ग तथा सडकखण्डमा सवारी आवागमन प्रभावित भएको प्राधिकरणले जनाएको छ ।
कोशी प्रदेशअन्तर्गत सुनसरी, पाँचथर, इलाम र सोलुखुम्बुका चतरा–बराहक्षेत्र, मध्यपहाडी लोकमार्ग, राँके–रवि–भेडेटार, मेची करिडोर तथा सिद्धिचरण लोकमार्ग पहिरोका कारण अवरुद्ध भएका छन् ।
बागमती प्रदेशमा पृथ्वी राजमार्गका कृष्णभिर, टिढराखानी र परेवाटारलगायतका खण्ड, कान्ति लोकपथ, मदन भण्डारी तथा अरनिको राजमार्ग, बीपी राजमार्ग र कुलेखानी–सिस्नेरी सडकखण्ड पहिरो तथा बाढीका कारण प्रभावित भएका छन्। अरनिको राजमार्गको धुलिखेल–पकुचा खण्ड भने एकतर्फी रूपमा सञ्चालनमा रहेको छ।
गण्डकी प्रदेशमा मनाङको चामे–बेंसीसहर सडकखण्ड, म्याग्दीको बेनी–जोमसोम सडक तथा पर्वतको पोखरा–बेनी–बागलुङ सडक पहिरो र रुख ढलेका कारण अवरुद्ध भएका छन् । लुम्बिनी प्रदेशमा कालीगण्डकी करिडोर, मदन भण्डारी राजमार्गको स्यालबिसौना, सिद्धार्थ राजमार्गको केराबारी तथा घोराही–थवाङ सहिदमार्ग पहिरोका कारण अवरुद्ध भएका छन् ।
त्यस्तै, कर्णाली प्रदेशको कालिकोटस्थित कर्णाली राजमार्ग र सल्यानको कपुरकोटस्थित राप्ती राजमार्ग पनि पहिरोका कारण बन्द रहेका छन् । सडक विभाग तथा सुरक्षा निकायका टोली अवरुद्ध सडकमा पहिरो पन्छाउने तथा सवारी आवागमन पुनः सञ्चालन गराउने कार्यमा खटिरहेका छन् ।
प्राधिकरणले सर्वसाधारणलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ ।
भिडियाे रिपाेर्ट