वीरगंज महानगरपालिका वडा नम्बर २५, खल्वाटोला श्रीसियास्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको नवनिर्मित दुईकोठे भवन उद्घाटन गरिएको छ ।
करिब ४० लाख रुपैयाँको लागतमा निर्माण गरिएको उक्त भवनको वडा नम्बर २५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीले एक कार्यक्रमबीच उद्घाटन गरेका छन् । नवनिर्मित भवन सञ्चालनमा आएसँगै विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि थप व्यवस्थित र सुरक्षित कक्षाकोठाको सुविधा उपलब्ध भएको छ । कक्षाकोठाको अभावका कारण पठनपाठन सञ्चालनमा समस्या हुँदै आएको अवस्थामा नयाँ भवन निर्माण भएपछि विद्यार्थीको सिकाइ वातावरण थप सहज हुने भएको छ ।
भवन उद्घाटन कार्यक्रममा बोल्दै वडाध्यक्ष चतुर्वेदीले नवनिर्मित भवनको उचित प्रयोग तथा संरक्षण गर्न विद्यालय परिवारलाई आग्रह गरेका थिए । उनले विद्यालयको शैक्षिक गतिविधिलाई प्रभावकारी बनाउन शिक्षक, अभिभावक र विद्यालय व्यवस्थापन पक्षले जिम्मेवारीपूर्वक काम गर्नुपर्ने बताएका थिए । वडा कार्यालयले विद्यालयमा मोन्टेस्वरी कक्षाका लागि आवश्यक सामग्री, स्मार्ट बोर्ड, बाउन्ड्री वाल निर्माण तथा वृक्षारोपण लगायतका काम गरेको जानकारी दिँदै चतुर्वेदीले विद्यालय नियमित सञ्चालनमा कुनै पनि प्रकारको हेलचेक्र्याइँ स्वीकार्य नहुने बताएका थिए ।
उनले विद्यालयको भौतिक संरचनाको विकाससँगै शैक्षिक गुणस्तर सुधारलाई पनि प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका थिए । स्थानीय तह, विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक तथा समुदायबीचको सहकार्यबाट विद्यालयको शैक्षिक वातावरणलाई थप प्रभावकारी बनाउन सकिने उनको भनाइ थियो ।
उद्घाटन कार्यक्रममा वडा कार्यालयको तर्फबाट विद्यार्थीलाई कापी, पेन्सिललगायतका शैक्षिक सामग्रीसमेत वितरण गरिएको थियो । भने कार्यक्रममा विद्यालयका शिक्षक, स्थानीय जनप्रतिनिधि, अभिभावक तथा स्थानीयवासीको सहभागिता रहेको थियो ।