लबकैया नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका तीन बालबालिकामध्ये दुई जनाको शव बुधबार बिहान फेला परेको छ ।
मंगलबार दिउँसो नदीमा नुहाउन गएका एक बालक र दुई बालिका डुबेर बेपत्ता भएका थिए । घटनापछि स्थानीय बासिन्दा, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी थालेको थियो ।
खोजीका क्रममा देवाही गोनाही नगरपालिका–२ लक्ष्मिनियाका १० वर्षीय मोहमद रहमतुल्लाह र सोही स्थानकी १० वर्षीया सवनम खातुनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
दुवै जनाको शव नदीमा तैरिरहेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाएलगत्तै प्रहरी घटनास्थलमा पुगेर शव नदीबाट बाहिर निकालेको थियो ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी वसन्त गौतमका अनुसार शवलाई कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि पठाउने तयारी भइरहेको छ ।
घटनामा बेपत्ता भएकी अर्की बालिकाको भने अझै खोजी भइरहेको प्रहरीले जनाएको छ ।