सेयर बजार परिसूचक नेप्से आज सामान्य बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज नेप्से सूचक ८.८१ अङ्कले बढेर २ हजार ६ सय ५१.२१ विन्दुमा पुगेर बन्द भएको हो ।
आज दिनभर ३४७ वटा स्क्रिप्टको १ करोड २ लाख कित्ता सेयर खरिद–बिक्री भएको छ । कुल ३ अर्ब ७२ करोड ४७ लाख ७० हजार ७७ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
कारोबार भएका कम्पनीमध्ये १७१ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ८६ वटा कम्पनीको मूल्य घटेको छ । १९ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । आज म्युचुअल फन्ड र इन्भेस्टमेन्ट समूहबाहेक सबै समूहको सूचक बढेको छ । यद्यपि, सबै समूहमा १ प्रतिशतभन्दा कमको उतारचढाव देखिएको छ ।
आज सर्वोत्तम पेन्ट्सका लगानीकर्ताले सबैभन्दा धेरै १५ प्रतिशत नाफा कमाएका छन् । त्यस्तै, माउन्ट एभरेस्ट पावर डेभलपमेन्टको सेयर मूल्य १४.९९ प्रतिशत, सुपर खुदी हाइड्रोपावरको १३.०२ प्रतिशत र घलेम्दी हाइड्रोको ११.९० प्रतिशतले बढेको छ ।
यसैबीच, सन् २०८६ मा परिपक्व हुने प्रभु बैंकको डिबेन्चरमा सर्वाधिक १०.४५ प्रतिशत गिरावट आएको छ । कारोबार रकमका आधारमा घलेम्दी हाइड्रो शीर्ष स्थानमा रहेको छ । उक्त कम्पनीको २९ करोड ९८ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । त्यसैगरी, एनआरएन इन्फ्रास्ट्रक्चर, सोलु हाइड्रोपावर र सेन्ट्रल फाइनान्स पनि सर्वाधिक कारोबार हुने कम्पनीको सूचीमा परेका छन् ।