जापान । जापानमा अध्ययनरत २५ वर्षीया नेपाली छात्रा लक्ष्मी राजवंशीको शव शंकास्पद अवस्थामा नदीमा फेला परेको छ । फुकुओका प्रिफेक्चरको चुओ वार्डस्थित नाका नदीमा उनको शव तैरिरहेको अवस्थामा फेला परेको हो ।
फुकुओका प्रिफेक्चरल प्रहरीका अनुसार अगस्ट १९ बिहान करिब ५ः४५ बजे फुकुओका सहरको तेन्जिन क्षेत्रमा एक पैदलयात्रीले नदीमा महिलाको शव तैरिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । सूचना पाएलगत्तै प्रहरी र अग्निनियन्त्रक घटनास्थल पुगेर शव नदीबाट बाहिर निकालेका थिए । तर, उनलाई घटनास्थलमै मृत घोषित गरिएको थियो ।
राजवंशी हाफ पाइन्ट र टी–सर्ट लगाएको अवस्थामा फेला परेकी थिइन् । सुरुमा उनको निधारमा चोट देखिएपछि प्रहरीले मृत्यु दुर्घटनाका कारण भएको हो वा कसैको संलग्नता छ भन्ने दुवै कोणबाट अनुसन्धान अघि बढाएको थियो ।
तर, अगस्ट २० मा गरिएको शव परीक्षणका क्रममा उनको टाउको र अनुहारमा भुत्ते वस्तुले प्रहार गरेजस्ता धेरै चोट तथा काटिएका घाउ भेटिएको प्रहरीले जनाएको छ । शरीरका अन्य भाग र हातमा समेत चोटपटक रहेको पाइएको छ ।
चोटपटकको प्रकृति हेर्दा भुत्ते हतियारबाट आक्रमण भएको हुनसक्ने देखिएपछि प्रहरीले घटनालाई हत्या भएको आशंकामा अनुसन्धान अघि बढाएको छ । घटनाको अनुसन्धानका लागि चुओ प्रहरी चौकीमा विशेष टोली गठन गरिएको जनाइएको छ । यद्यपि, उनको मृत्युको यकिन कारण र घटनामा संलग्न व्यक्तिबारे प्रहरीले अहिलेसम्म सार्वजनिक गरेको छैन ।
प्रहरीका अनुसार राजवंशी अगस्ट १८ राति करिब १०ः३० बजे पार्टटाइम काम सकेर निस्किएकी थिइन् । त्यसपछि उनी सम्पर्कविहीन भएकी थिइन् ।
अगस्ट १९ बिहान करिब ३ः१५ बजे उनीसँग परिचित एक महिलाले राजवंशी घरमा नभएको भन्दै प्रहरीलाई जानकारी गराएकी थिइन् । त्यसपछि प्रहरीले उनको निवासमा अनुसन्धान गर्दा रगतका दाग फेला पारेको थियो ।
डेरामा रगतका दाग भेटिनुका साथै केही घण्टापछि नदीमा उनको शव फेला पर्नु र शरीरमा गम्भीर चोटपटक देखिनुले घटना थप रहस्यमय बनेको छ । प्रहरीले उनको निवासमै कसैसँग झडप भएको हुनसक्ने सम्भावनासमेतलाई आधार बनाएर अनुसन्धान गरिरहेको छ ।
प्रहरीले राजवंशीको अन्तिम गतिविधि, उनी सम्पर्कमा रहेका व्यक्तिहरू तथा निवासबाट नदीसम्म पुगेको सम्भावित अवस्थाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।
राजवंशी सन् २०२३ को मे महिनामा विद्यार्थी भिसामा जापान पुगेकी थिइन् । उनी फुकुओकास्थित एक व्यावसायिक विद्यालयमा अध्ययनरत थिइन् । अध्ययनसँगै उनले पार्टटाइम कामसमेत गर्दै आएकी थिइन् ।
नेपाली छात्राको शंकास्पद मृत्युबारे जापानी प्रहरीले अनुसन्धान तीव्र बनाएको छ । घटनाको वास्तविकता शव परीक्षण, घटनास्थलबाट संकलित प्रमाण तथा सम्बन्धित व्यक्तिसँगको सोधपुछपछि थप स्पष्ट हुने प्रहरीले जनाएको छ ।