काठमाडौं । गत साउन १४ गते बिहानै करिब साढे सात बजे तिर वनस्थलीको एउटा घरमा चोरी भयो । चोरले कोठा फोडेर भएभरका गरगहना र नगद लगे ।
उक्त सूचना प्रहरीले थाहा पाउने बित्तिकै घटनास्थलमा पुग्यो । चोरले दराज फोडेर सुनको मङ्गलसूत्रदेखि मोतीका माला जडित सुनका गहना लगेको कुरा पीडितले बताए । प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले अनुसन्धान अघि बढायो ।
अनुसन्धानका क्रममा ६ जना पक्राउ परे । पक्राउ परेका समूहमा सुन चोरी गर्नेदेखि बिक्री गर्ने र खरिद गर्ने सुन पसल सञ्चालकसम्म छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) दानबहादुर थापाका अनुसार अनुसन्धान अघि बढाउँदै जाँदा चोरी गर्ने मध्येका दुई जना लागुऔषध र चोरी मुद्दामा प्रहरी वृत्त स्वयम्भूको हिरासतमा छन् । उनीहरू हुन्, काठमाडौं महानगरपालिका–१५ बस्ने रविन महर्जन र काभ्रेका सञ्जय तामाङ हुन् ।
एसपी थापाका अनुसार साउन १४ कै घटनामा संलग्न अन्य दुई जना क्रमशः सुनसरी घर भएर काठमाडौं महानगरपालिका–१६ बस्ने सुविन घिमिरे र मकवानपुर घर भएर काठमाडौं बागबजार बस्ने सुरज बिक पनि अभद्र व्यवहार कसुरमा प्रहरी वृत्त बालाजुको हिरासतमा रहेको फेला पर्यो ।
बालाजु प्रहरीले शुरूमा चोरी घटनामा काठमाडौं महानगरपालिका–१५ बस्ने रवि महर्जन र सुन पसल सञ्चालक विनोद शाक्यलाई पक्राउ गरेको थियो । महर्जन चोरीको सुन बिक्री गर्ने र शाक्य खरिद गर्ने भूमिकामा रहेको प्रहरी अनुसन्धानबाट खुल्यो ।
प्रहरीले यो समूहबाट मोती मालाजडित मोती हार २ थान, हसुली माला १ थान, मोतीको मालाजडित लकेट २ थान, सुनको खुकुरी कोट पिन २ थान, तीन गेडी हरियो माला १ थान, मङ्गलसूत्र १ थान, तीन लेयर माला १ थान, सोले गेडी माला १ थान, लक्ष्मी माला १ थान, सोली माला १ थान, सी माला १ थान, नेक्लेस १ थान, नवरत्न माला १ थान, रातो मङ्गलसूत्र २ थान, गोलो औँठी १ थान, चन्द्रमा १ थान र बक्स औँठी १ थान बरामद गरेको छ ।
चोरी घटनाको अनुसन्धान गर्दै जाँदा साउन १४ गते बालाजु वनस्थलीमा चोरी गरिसकेपछि रविन महर्जन र सञ्जय तामाङ स्वयम्भू क्षेत्रमा अर्को घटनामा संलग्न रही पक्राउ परेको तथ्य खुलेको एसपी थापाले बताए ।
उनले भने, “पहिला दुई जनालाई पक्राउ गरेर सोधपुछ गर्दा साउन १४ को घटनामा संलग्न चार जना प्रहरीकै हिरासतमा रहेको तथ्य खुल्यो ।’
यो गिरोहले अन्य स्थानमा पनि घटना गराएको आशंकामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।